८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता

2.63k
Shares

रौतहट । 

 ६ जना दलितमाथि भएको सामूहिक कुटपिट घटनामा संलग्न ८ जनाविरुद्ध आठ दिनपछि ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको छ। रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा  होली पूर्वको पूर्व सन्ध्या एवं प्रतिनिधि सभा निर्वाचनको दुई दिन अघि फागुन १९ गते दुई महिला सहित

छ जना माथि सामुहिक रुपमा साघातिक आग्रमण गरेको घटनामा संलग्नलाई प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा  दर्ता गरेको छ।

 पीडित बिर्जा राम चमारको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियामा बुधबार मुद्दा दर्ता गरिएको हो। प्रहरीका अनुसार घटनामा संलग्न भनिएका पसिन्द्र यादवलाई पक्राउ गरिएको छ। अन्य आरोपीहरू भुनेश्वर यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादव फरार रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका पसिन्द्र यादवलाई इलाका प्रहरी कार्यालय विजयपुरलक्ष्मीनियाले सात दिनको म्याद थप गरी हिरासतमा राखेको छ। सामान्य भनाभनपछि स्थानीय भुनेश्वर यादवसहितको समूहले लाठी–भाटा लिएर साँझ करिब ६ बजे बिर्जा राम चमारको घरमै प्रवेश गरी कुटपिट गरेको पीडित पक्षले जनाएको छ। सो क्रममा घरभित्र रहेका श्रीमती, छोरीसहित ६ जनामाथि निर्घात कुटपिट हुनुका साथै घरका सामान तोडफोड गरिएको र दुईवटा मोबाइलसमेत फोडिएको बताइएको छ। 

कुटपिटबाट बिर्जा राम चमारको ढाड र घाँटीमा चोट लागेको छ भने उनकी श्रीमती गायत्री देवी रामको शरीरभरि निलडाम परेको छ। उनका छोरा राजकुमार रामको टाउकोमा तीन टाँका लागेको छ भने सुब्बा रामकी १६ वर्षीया छोरीको टाउको फुटेर सात टाँका लागेको बताइएको छ। ललन राम चमारको अनुहार तथा शरीरमा चोट लागेको छ भने नरेश राम चमारको टाउको र आँखामा चोट लागेको पीडित पक्षले जनाएको छ।

पीडितका अनुसार घटना हुनुभन्दा करिब एक घण्टा अघि दुई पक्षबीच सामान्य विवाद भएको थियो। सो क्रममा राजकुमार राममाथि घरभन्दा केही टाढा कुटपिट गरिएको र प्रतिवादका क्रममा विपक्षी पक्षका एकजनाको टाउको सामान्य रूपमा फुटेको बताइएको छ। त्यसपछि विपक्षीहरू लाठी–भाटा लिएर घरमै प्रवेश गरी सामूहिक आक्रमण गरेको आरोप छ। घटनापछि पुगेको प्रहरी टोलीले आक्रमणकारीलाई नियन्त्रणमा लिनुको सट्टा बिर्जा राम र उनका छोरालाई पक्राउ गरी हथकडी लगाएर लगेको पीडित पक्षले आरोप लगाएको छ। पछि स्थानीयको दबावमा उनीहरुलाई प्रहरीले छाडेको थियो।इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र यादवले पीडक माथी अनुसन्धान अघि बढाइएको बताए।