नेपालको निर्वाचनमा इजरायलको बधाई, इरानबारे राजदूतको कडा चेतावनी


काठमाडौं
नेपालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बासले नेपाल सरकार, राजनीतिक दल र नेपाली जनतालाई बधाई दिएका छन्। उनले नेपालले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नु लोकतन्त्रको सुदृढीकरणका लागि महत्वपूर्ण कदम भएको बताएका छन्।

काठमाडौंस्थित इजरायली दूतावासमा आयोजित ‘नयाँ पश्चिम एसियामा नव प्रभात’ विषयक पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने इजरायलको इच्छा व्यक्त गरे। उनले इजरायल नयाँ नेतृत्वसँग सहकार्य गर्दै कृषि, प्रविधि तथा श्रम सहकार्यका क्षेत्रमा सम्बन्ध विस्तार गर्ने तयार रहेको बताए । नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध सन् १९६० मा स्थापना भएको थियो। हाल हजारौँ नेपाली कामदार इजरायलमा विशेषगरी केयरगिभिङ क्षेत्रमा कार्यरत छन् भने कृषि प्रविधि र सिँचाइ प्रणालीमा पनि दुई देशबीच सहकार्य हुँदै आएको छ।

पत्रकार सम्मेलनमा राजदूत श्मुलिकले इजरायलले इरामा आक्रमण गर्नुको एक मात्र कारण अस्तित्वको रक्षा भएको बताए । इजरायलले अमेरिकासँग सहकार्य गर्दै इरानका सैन्य संरचनामाथि आक्रमण गरिरहेको छ भने इरानले पनि खाडी क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ। राजदूत श्मुलिकले इजरायलले आफ्नो नागरिक र भूभागको सुरक्षाका लागि प्रतिकारात्मक कदम चाल्नुपरेको दाबी गर्दै हमास र हिज्बुल्लाह जस्ता समूहहरूलाई इरानले सहयोग गर्दै आएको आरोप लगाए।


पत्रकार सम्मेलनमा उनले इरानको शक्ति र क्षमताबारे विस्तृत चर्चा गर्दै भने-‘इरान अब तेस्रो विश्वको मुलुक होइन। २१औँ शताब्दीको सम्भावित महाशक्ति बन्ने बाटोमा पुगेको मुलुक हो .’ उनले विश्व आर्थिक मञ्चलाई उद्धृत गर्दै इरान प्रत्येक वर्ष इन्जिनियरिङ, विज्ञान, प्रविधि र गणित क्षेत्रमा स्नातक उत्पादन गर्ने शीर्ष १० देशभित्र पर्ने र इरानका करिब ३५ प्रतिशत विद्यार्थीले प्राविधिक विषय अध्ययन गर्ने बताए । उनले इरानले प्रति महिना १०० देखि ३०० ब्यालिस्टिक मिसाइल उत्पादन गर्न सक्ने क्षमता विकास गरेको अनुमान रहेको बताए। उनका अनुसार मध्यपूर्वमा आफ्ना सहयोगी समूहहरूलाई सहयोग गर्न इरानले वार्षिक करिब २ अर्ब डलर खर्च गर्ने गरेको र हिज्बुल्लाहले मात्र करिब ७०० मिलियन डलर पाउने गरेको बताए ।

राजदूत श्मुलिकले सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानसँग सम्बन्धित हिंसात्मक घटनामा कम्तीमा ३ हजार इजरायली र १ हजारभन्दा बढी अमेरिकी नागरिक मारिएको दाबी पनि गरे।इरानको आणविक कार्यक्रमले विश्व सुरक्षामा ठूलो खतरा उत्पन्न गर्न सक्ने टिप्पणी गर्दै भने – ‘अमेरिकी कंग्रेसको अध्ययनले सन् २०३५ सम्म इरानले १० हजार किलोमिटर दूरीसम्म प्रहार गर्न सक्ने अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल विकास गर्न सक्ने सम्भावना रहेको देखाएको छ।’ इरानले आणविक हतियार र लामो दूरीका मिसाइल विकास गर्‍यो भने त्यो केवल इजरायल वा खाडी क्षेत्रका लागि मात्र होइन, विश्वव्यापी सुरक्षाका लागि चुनौती बन्ने सक्ने चेतावनी दिंदै इजरायली राजदूत श्मुलिकले आतंकवादविरुद्ध विश्व एक हुनुपर्ने धारणा राख्नुभयो ।