काठमाडौँ।
नेपालमा डाक्टर भन्नासाथ अस्पतालको आपत्कालीन कक्षमा दिनरात खटिएर बिरामीको उपचार गर्ने छवि दिमागमा आउँछ । तर पछिल्ला वर्षहरूमा केही चिकित्सक र स्वास्थ्यकर्मीले उपचारको सीमित घेराबाट बाहिर निस्केर देशको नीति निर्माण गर्ने जिम्मेवारी पनि सम्हालेका छन् । सेतो कोट फुकालेर उनीहरू संघीय संसद्को प्रतिनिधिसभामा पुगेका छन्, जसले स्वास्थ्य क्षेत्रका आवाज अब संसद्भित्रै बलियोसँग उठ्ने अपेक्षा बढाएको छ ।
विगत वर्षबाट शुरुभएको यो अभियान यसपटक प्रतिनिधिसभामा चिकित्सक तथा स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष जोडिएका केही व्यक्तित्व निर्वाचित भएका छन् । वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापा, शल्य चिकित्सक डा. तोसिमा कार्की, जनस्वास्थ्यविज्ञ आनन्दबहादुर चन्द, दृष्टिरोग विशेषज्ञ दीपककुमार साह, चिकित्सक डा. शम्भुकुमार यादव तथा स्वास्थ्य स्वयंसेविका आशा झा संसद्मा प्रवेश गरेका छन् । उहाहरू सबै राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुभएको हो ।
रूपन्देही–३ बाट भारी मतसहित विजयी भएका डा. लेखजंग थापा नेपालका वरिष्ठ न्युरोलोजिस्ट हुनुहुन्छ । उहाँ राष्ट्रिय न्युरो केन्द्र काठमाडौंमा न्युरोलोजी विभाग प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो । नेपालमा पहिलो पटक थ्रोम्बोलाइसिस थेरापी प्रयोग, स्ट्रोक सम्बन्धी अनुसन्धान र उपचार प्रणाली विकासमा उहाँको योगदान महत्त्वपूर्ण मानिन्छ । संसद्मा पुगेपछि उहाँले विशेष गरी नसर्ने रोग, स्ट्रोक उपचार र अत्याधुनिक उपचार प्रणाली देशभर विस्तार गर्ने लक्ष्य राख्नुभएको छ ।
ललितपुर–३ बाट पुनः निर्वाचित डा. तोसिमा कार्की यसअघि स्वास्थ्य राज्यमन्त्री समेत भइसक्नुभएको थियो । शल्य चिकित्सकका रूपमा सेवा दिनुभएकी कार्की चिकित्सा शिक्षा सुधार अभियानसँग पनि जोडिनुभएको थियो । उहाँले उपचार मात्र होइन, उपचार सम्भव हुने स्वास्थ्य प्रणाली निर्माण गर्ने उद्देश्यले राजनीतिमा आएको बताउँदै आउनुभएको छ ।
त्यस्तै कैलाली–५ बाट विजयी जनस्वास्थ्यविज्ञ आनन्दबहादुर चन्द लामो समयदेखि जनस्वास्थ्य, नसर्ने रोग र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानमा सक्रिय हुँदै आउनुभएको छ । यही अभियान सञ्चालनमा सक्रिय भएवापत नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सम्मान समेत गरेको छ । शिक्षण र अनुसन्धान क्षेत्रमा १७ वर्ष काम गरिसक्नुभएका उहाँले अब संसद् मार्फत स्वास्थ्य नीतिलाई वैज्ञानिक आधारमा अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।
त्यस्तै सिरहा–३ बाट निर्वाचित डा. शम्भुकुमार यादव ग्रामीण स्वास्थ्य सेवासँग प्रत्यक्ष जोडिएका चिकित्सक हुनुहुन्छ । भारतबाट एमबीबीएस अध्ययन पूरा गरेर नेपाल फर्किएपछि उहाँले सिरहामै स्वास्थ्य सेवा दिँदै आउनुभएको थियो । गाउँका बिरामी उपचारका लागि टाढा धाउनुपर्ने अवस्थाले राजनीतिमा आउन प्रेरित गरेको उहा बताउँनुहुन्छ । त्यसैगरि महोत्तरी–२ बाट विजयी दीपककुमार साह जनस्वास्थ्य तथा दृष्टिरोग क्षेत्रका विशेषज्ञ हुनुहुन्छ । विश्वस्तरीय संस्थाबाट अध्ययन गर्नुभएको उहाँले स्वास्थ्य सेवा पहुँच, विशेषगरी ग्रामीण क्षेत्रमा विशेषज्ञ सेवा विस्तारलाई आफ्नो प्राथमिकता बनाएको बताउनुहुन्छ ।
त्यस्तै मोरङ–५ बाट निर्वाचित आशा झा १६ वर्षसम्म स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरेकी महिला हुनुहुन्छ । घर–घर पुगेर स्वास्थ्य सचेतना फैलाउँदै समुदायसँग नजिकबाट काम गरेकी झा अब संसद्मा पुग्नुभएको छ । स्वास्थ्य क्षेत्रको अनुभव बोकेका यी प्रतिनिधिहरूको उपस्थितिले संसद्मा स्वास्थ्य प्रणाली सुधार, सेवा पहुँच विस्तार र नीति निर्माणमा नयाँ बहस सुरु हुने अपेक्षा गरिएको छ । अब चुनौती उहाँहरूले उठाएका मुद्दालाई व्यवहारमा रूपान्तरण गर्ने हो । बिरामीको उपचार गर्ने हात अब नीति निर्माणमा सक्रिय हुँदा नेपालका स्वास्थ्य सेवामा दीर्घकालीन सुधारको आशा पलाएको छ ।











प्रतिक्रिया