स्याङ्जा ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत स्याङ्जा क्षेत्र नं. १ मा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा उनीहरुको जमानत जफत भएको छ । मुख्य निर्वाचन कार्यालय स्याङ्जाका अनुसार यस क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका १२ जना उम्मेदवारमध्ये ९ जनाले जमानत जोगाउन नसकेका हुन् । निर्वाचनमा विजेता, उपविजेता र तेस्रो स्थानमा रहेका तीन उम्मेदवारले मात्र जमानत सुरक्षित गर्न सफल भएका छन् ।
निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार धनञ्जय रेग्मी विजयी हुनुभएको थियो । त्यस्तै नेपाली कांग्रेसका भरतराज ढकाल उपविजेता र नेकपा एमालेका मिनप्रसाद गुरुङ तेस्रो स्थानमा रहनुभएको छ । यी तीन उम्मेदवारले मात्र आवश्यक मत प्राप्त गरेर जमानत जोगाएका हुन् ।
निर्वाचन आयोगको प्रावधानअनुसार प्रत्यक्षतर्फ उम्मेदवारले खसेको सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसके जमानत जफत हुने व्यवस्था रहेको छ । स्याङ्जा क्षेत्र नं. १ मा भएको निर्वाचनमा यही प्रावधानका आधारमा ९ उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । यस क्षेत्रमा कुल १ लाख ३० हजार ८ सय ८६ मतदाता रहेका थिए । तीमध्ये ७० हजार ९ सय ४४ मत खसेको थियो । खसेको मतमध्ये २ हजार ९ सय ८ मत बदर भएको थियो भने ६८ हजार ३६ मत सदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने प्रावधानअनुसार यस क्षेत्रमा कम्तीमा ६ हजार ८ सय ३ मत प्राप्त गर्नुपर्ने थियो । तर अधिकांश उम्मेदवारले उक्त सीमा पार गर्न नसक्दा उनीहरुको जमानत जफत भएको हो । जमानत जफत हुने उम्मेदवारमध्ये नेपाली कम्युनिष्ट पार्टीका शैलेन्द्र घिमिरेले १ हजार ५ सय ५२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका हुकुमबहादुर रानाले ६ सय ९८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै श्रम संस्कृति पार्टीका पिरन गुरुङले ४ सय ८९ मत प्राप्त गर्नुभएको छ भने मंगोल नेशनल अर्गनाइजेसनका यामबहादुर गुरुङले २ सय १६ मत पाउनुभएको छ । उज्यालो नेपाल पार्टीका रविन्द्र मल्लले १ सय ७६ मत प्राप्त गर्नुभएको छ भने नेशनल रिपब्लिक नेपालका अर्जुनकुमार गुरुङले ६१ मत प्राप्त गर्नुभएको छ । यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का सोमबहादुर परियारले ५७ मत प्राप्त गर्नुभएको छ ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका रनबहादुर विश्वकर्माले ३० मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार अशोक विष्टले २५ मत प्राप्त गर्नुभएको छ । यी सबै उम्मेदवारले सदर मतको १० प्रतिशत पनि मत ल्याउन नसकेकाले उनीहरुको जमानत जफत भएको हो । निर्वाचन आयोगको नियमअनुसार उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्दा निश्चित रकम धरौटीका रुपमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको हुन्छ । यदि उम्मेदवारले तोकिएको न्यूनतम मत प्राप्त गर्न सकेन भने उक्त धरौटी जफत हुने प्रावधान छ । यसै व्यवस्थाअनुसार स्याङ्जा क्षेत्र नं. १ का ९ उम्मेदवारको धरौटी जफत भएको हो ।
उता समानुपातिक निर्वाचन प्रणालीतर्फ भने फरक व्यवस्था रहेको छ । समानुपातिकतर्फ कुनै दलले एक सिट पनि प्राप्त गर्न नसके त्यस दलको धरौटी जफत हुने व्यवस्था निर्वाचन आयोगले गरेको छ । यस निर्वाचन परिणामले स्याङ्जा क्षेत्र नं. १ मा मुख्य प्रतिस्पर्धा ठूला दलहरुबीच केन्द्रित भएको देखाएको छ भने साना दल र स्वतन्त्र उम्मेदवारहरुले अपेक्षित समर्थन पाउन नसकेको विश्लेषण गरिएको छ । निर्वाचन परिणामपछि यस क्षेत्रको राजनीतिक समीकरण र दलहरुको प्रभावका विषयमा समेत चर्चा सुरु भएको छ ।











प्रतिक्रिया