काठमाडाैं ।
काठमाडाैं उपत्यकामा वायु प्रदूषण अस्वस्थ स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय संस्था आईक्यू एअर का अनुसार सोमबार काठमाडाैंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १८४ पुगेको थियो, जुन स्वास्थ्यका हिसाबले निकै अस्वस्थ मानिन्छ। मंगलबार बिहान यो सूचकांक १८८ पुगेको छ।
विश्वका प्रदूषित शहरहरूको सूचीमा काठमाडाैं हाल चौथो स्थानमा रहेको छ। पाकिस्तानको लाहोर २३० एक्यूआईसहित पहिलो, भारतको दिल्ली २८० एक्यूआईसहित दोस्रो र बङ्गलादेशको ढाका २०२ एक्यूआईसहित तेस्रो स्थानमा छन्।
विज्ञहरूले बढ्दो गाडी चाप, डढेलो र पानी नपर्ने अवस्थाले हावा दूषित भइरहेको बताएका छन्। प्रदूषित हावाले बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वासका रोग भएका व्यक्तिलाई गम्भीर असर पुर्याउन सक्छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दीर्घरोगी, गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई बाहिर कम निस्कन र निस्कनै परे मास्क प्रयोग गर्न सुझाव दिएको छ। बिहान र बेलुकाको समयमा धुलो र धुवाँबाट जोगिन सतर्क रहन पनि मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयका अनुसार यस हप्ताभरी काठमाडाैं उपत्यकामा प्रदूषणको अवस्था यथावत रहन सक्ने सम्भावना रहेको छ।











प्रतिक्रिया