काठमाडौं।
प्रतिनिधिसभा निर्वाचनपछि देखिएको राजनीतिक स्थिरताको अपेक्षाले सोमबार सेयर बजारमा असाधारण उत्साह देखिएको छ । बजार खुलेको केही मिनेटमै तीव्र वृद्धि भएपछि नेप्से परिसूचक ६ प्रतिशतले बढ्दै तेस्रो सर्किट ब्रेक लागेपछि दिनभरका लागि कारोबार बन्द गरिएको हो ।
साताको पहिलो कारोबार दिन बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक करिब ४ प्रतिशत अर्थात् १०८ अंकले उकालो लाग्दै पहिलो सर्किट ब्रेक लाग्यो । नियमअनुसार २० मिनेटपछि पुनः खुलेको बजारमा पनि लगानीकर्ताको खरिद चाप उस्तै रहेपछि एक मिनेटमै दोस्रो सर्किट ब्रेक लाग्यो र कारोबार ४० मिनेटका लागि स्थगित गरियो ।
दोस्रो स्थगनपछि १२ बजेर १ मिनेटमा खुलेको बजारमा पनि तीव्र वृद्धि जारी रह्यो । खुल्नेबित्तिकै नेप्से पुनः उकालो लागेर १२ बजेर १ मिनेट ३७ सेकेन्डमा ६ प्रतिशत अर्थात् १६२.९३ अंकले बढ्दै तेस्रो सर्किट ब्रेक लाग्यो । यससँगै सो दिनका लागि सेयर कारोबार पूर्ण रूपमा बन्द भयो ।
सोमबारको कारोबारपछि नेप्से परिसूचक १६२.९३ अंकले बढेर २८७५.४३ विन्दुमा पुगेको छ । बजारसँग सम्बन्धित अन्य सूचकहरू पनि सकारात्मक देखिएका छन् । सेन्सेटिभ इण्डेक्स २८.११ अंकले बढ्दा फ्लोट इण्डेक्स ११.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ९.९६ अंकले वृद्धि भएका छन् ।
कारोबार समय निकै छोटो भए पनि बजारमा उल्लेख्य रकमको सेयर किनबेच भएको छ । कुल २६१ कम्पनीका ४ हजार ५१ पटकका कारोबारबाट करिब ५५ करोड ५९ लाख रुपियाँ बराबरको ११ करोड ४३ लाख कित्ता सेयर किनबेच भएको छ ।
मूल्य वृद्धिका हिसाबले केही कम्पनीका सेयरमा उच्च उछाल देखिएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, शिवश्री हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स र सिटी होटलको सेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशत बढेर १ हजार ७५१ रुपियाँ पुगेको छ भने शिवश्री हाइड्रोपावरको सेयर १० प्रतिशत बढेर २१३ रुपियाँ ४० पैसामा कारोबार भएको छ । यसदिन करिब ८ कम्पनीको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ भने १२ कम्पनीको सेयर मूल्य ९.५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । यद्यपि, समग्र बजार बढिरहेको अवस्थामा पनि एक कम्पनीको सेयर मूल्य भने घटेको छ । रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य १.४९ प्रतिशतले घटेर प्रतिकित्ता ६७५ रुपियाँ ३० पैसामा झरेको छ ।
कारोबार रकमका आधारमा नारायणी डेभलपमेन्ट बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको करिब ३ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा शिवम् सिमेन्ट्स रहेको छ, जसको करिब २ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै एसवाई प्यानल नेपालको पनि करिब २ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
समूहगत परिसूचकहरू पनि पूर्ण रूपमा सकारात्मक देखिएका छन् । कारोबारमा आएका सबै १३ उपसमूहको परिसूचक बढेको छ । तीमध्ये व्यापार समूहको परिसूचक सबैभन्दा धेरै ७.७३ प्रतिशतले बढेको छ । लगानी उपसमूह ७ प्रतिशतभन्दा बढीले उकालो लाग्दा बैंकिङ र जलविद्युत उपसमूह पनि करिब ७ प्रतिशतले बढेका छन् । विकास बैंक, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन लगायत अन्य समूहहरूमा पनि ५ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।
विश्लेषकहरूका अनुसार निर्वाचनपछि स्पष्ट राजनीतिक नेतृत्व देखिने संकेत र स्थिर सरकार बन्ने सम्भावनाले लगानीकर्तामा उच्च आत्मविश्वास सिर्जना गरेको छ । मतपरिणामले राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै सरकार गठन गर्न सक्ने अनुमान सार्वजनिक भएपछि बजारमा सकारात्मक मनोविज्ञान देखिएको हो ।
प्राविधिक सूचकहरूले पनि केही समयदेखि बजारमा सुधारको संकेत दिइरहेका थिए । हालै नेप्सेमा ‘गोल्डेन क्रसओभर’ बनेको छ, जसलाई दीर्घकालीन वृद्धि संकेत गर्ने प्राविधिक सूचक मानिन्छ । यसमा ५० दिने मुभिङ एभरेजले २०० दिने मुभिङ एभरेजलाई माथिबाट काट्दा बजार उकालो लाग्ने सम्भावना बलियो हुने विश्लेषण गरिन्छ । यद्यपि, बजारको दीर्घकालीन दिशा भने राजनीतिक घटनाक्रम, नीतिगत सुधार, बैंकहरूको ब्याजदर, बजारमा उपलब्ध तरलता र सूचीकृत कम्पनीहरूको वित्तीय अवस्थाजस्ता कारकले निर्धारण गर्ने विश्लेषकहरूको भनाइ छ ।











प्रतिक्रिया