एजेन्सी।
इरानमा अमेरिका र इसराइलको संयुक्त हमलामा परी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि उनका छोरा सय्यद मोज्तबा होसेनी ख़ामेनेईलाई नयाँ सर्वोच्च नेता नियुक्त भएका छन्।
८८ जना धर्मुगुरू रहेको विज्ञहरूको सभा (एसेम्ब्ली अफ एक्सपर्ट्स) ले आइतबार मतदानबाट मोज्तबा खामेनीलाई इस्लामिक गणतन्त्र इरानको तेस्रो सर्वोच्च नेता चयन गरेको हो। विज्ञहरूको सभाले एक विज्ञप्ति जारी गर्दै नयाँ सर्वोच्च नेता नियुक्त गरिएको जनाएको छ। अमेरिकासहित इजराइलसँग जारी युद्धकैबीच गरिएको यो निर्णयले इरानमा कट्टरपन्थी शक्तिहरूको पकड अझै मजबुत रहेको संकेत दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको हाे।
सर्वोच्च नेताको पद इरानको सबै भन्दा शक्तिशाली पद मानिन्छ। यस पदमा रहने व्यक्तिसँग राज्यका सबै प्रमुख निर्णयमा अन्तिम अधिकार हुन्छ। मोज्तबा खामेनी लामो समयदेखि इरानको सुरक्षा संयन्त्र तथा आर्थिक सञ्जालभित्र प्रभावशाली व्यक्तिका रूपमा चिनिँदै आएका छन्। आफ्ना पिता अली खामेनीको नेतृत्वमा रहेको शक्तिशाली संरचनाभित्र उनी प्रभावशाली भएकाले उत्तराधिकारीका रूपमा पहिलेबाटै अग्रपंक्तिमा रहेको विश्लेषण गरिएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा नयाँ सर्वोच्च नेता चयनमा अमेरिकाको पनि भूमिका हुनुपर्ने बताउँदै आएका थिए । इरानमा सर्वोच्च नेता अली खामेनी मारिएपछि राष्ट्रपति ट्रम्पले इरानका जनतालाई सत्ता नियन्त्रणमा लिन अपील नै गरेका थिए । जनताले आफूलाई स्वीकार हुने व्यक्तिलाई नयाँ सर्वोच्च नेता चुनेको खण्डमा अमेरिका जस्तोसुकै सहयोग गर्न तयार रहेको भनेर उनले बताएका थिए । इजराइलले भने नयाँ सर्वोच्च नेता चयन हुनु अघि नै जोसुकै नेता बने पनि उसलाई निशाना बनाइने चेतावनी दिएको थियो।











प्रतिक्रिया