समानुपातिक मतगणना तीव्र : थ्रेसहोल्ड पार गर्ने दलबीच कसरी हुन्छ समानुपातिक सिट बाँडफाँट ?

6.02k
Shares

काठमाडौं ।

समानुपातिकतर्फ थ्रेसहोल्ड पार गर्ने दलहरूबीच सेन्ट लग विधिबाट १ सय १० सिट बाँडफाँट हुने भएपछि राजनीतिक दलहरूको ध्यान समानुपातिक सिटतर्फ केन्द्रित भएको छ । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकतर्फको मतगणना जारी छ । यस्तो बेला समानुपातिकतर्फ कुन दलले कति सिट पाउँछ भने सबैको ध्यान सोझिएको हो ।

राजनीतिक दलहरूले समानुपातिकतर्फ पाएको मतपरिणाम निर्वाचन आयोगले पठाएपछि समानुपातिकतर्फको सिट बाँडफाँट गर्ने गरिन्छ । सिट पाउनका लागि दलहरूले सदर मतको ३ प्रतिशत कटाउनुपर्ने प्रावधान रहेको छ । प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फ १ सय ६५ सिटका लागि भएको निर्वाचनमा १ सय ५० भन्दा बढी सिटको मतपरिणाम आइतबारसम्ममा आइसकेको छ । आइतबारसम्ममा समानुपातिकतर्फ ४४ लाखभन्दा बढी मत गणना भइसकेको आयोगका प्रवक्ता प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार राति अबेरसम्म समानुपातिकतर्फ २७ लाख ८९ हजार ३ सय ५८ मत प्राप्त गरेको छ । त्यसै गरी नेपाली कांग्रेसले ९ लाख ३८ हजार ३ सय ९७ मत प्राप्त गरेको छ । नेकपा एमालेले अहिलेसम्म ८ लाख ११ हजार ४ सय ६३ मत प्राप्त गरेको छ । नेपाली कम्युनिस्ट पार्टीले ३ लाख ८७ हजार २ सय ६१ मत प्राप्त गरेको छ । यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख २ हजार ३४ मत प्राप्त गरेको छ । श्रम संस्कृति पार्टीले १ लाख ५२ हजार २ सय ८७ मत प्राप्त गरेको छ ।
यसपटकको निर्वाचनमा जम्मा १ करोड ९ लाख ७७ सय ७ सय ११ मत खसेको थियो । हालसम्म झन्डै १ सय २२ को हाराहारी सिट रास्वपाले जितिसकेको छ भने यो क्रम अझै बढ्ने छ । अहिलेसम्म १ सय ५० भन्दा बढी क्षेत्रको नतिजा आइसकेको छ ।
राजनीतिक दलहरूले समानुपातिकतर्फको पाएको मतलाई बिजोर अंकले भाग लगाउने पद्धतिलाई ‘सेन्ट लग’ विधि भनिन्छ । सो विधिअनुसार सिट संख्या भाग लगाउँदा धेरै मत पाउने दलले पहिलो सिट र त्यसपछि अन्य दलले क्रमशः सिट पाउँदै जान्छन् । आयोगका अनुसार ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेका दलहरूको सदर मतलाई यकिन गरेर प्रतिनिधिसभातर्फको १ सय १० सिट बाँडफाँट हुने छ । यस अनुसार करिब १ लाख बराबर १ सिट पाउन हुनेछ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० र अनुसूची २ मा समानुपातिक सिटको प्रावधान छ । मत परिणाम विभाजक सूत्रअनुसार प्रत्येक दलका लागि खसेको मतलाई भाग गर्ने पद्धतिले शृंखलाबद्ध रूपमा भाग गरिनेछ । यसअनुसार प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई धेरै भाजकहरूले भाग गरिन्छ ।

(उदाहरण ः १, ३, ५, ७, ९ आदि) त्यसरी भाग प्राप्त हुने नतिजालाई दलको भागफल (क्योसेन्ट) भनिन्छ । भागफल प्राप्त भएपछि सिट संख्याहरू ठूलो भागफलबाट सानोलाई बाँडफाँट गर्दै सिट नसकिँदासम्म बाँडफाँट गरिनेछ । यसरी बाँडफाँट गर्दा कुनै दलले जतिसुकै मत प्राप्त गरेको भए तापनि त्यस्तो दलले बन्दसूचीमा सूचीकृत गरेको उम्मेदवार संख्यामा सीमित रही त्यस्तो राजनीतिक दलले प्राप्त गर्ने सिटको बाँडफाँट गरिनेछ ।

थ्रेस होल्ड कटाएका दलहरूले प्राप्त गरेको मत संख्यालाई क्रमबद्ध राखेर प्रत्येकलाई पालैपालो १ देखि क्रमशः बिजोर संख्याले भाग गरिन्छ । दलहरूले प्राप्त गरेको मत संख्यालाई १, ३, ५, ७, ९, ११, १३ लगायत बिजोर संख्याहरूले क्रमशः भाग लगाइन्छ । यसरी क्रमशः १ सय १० सिट बराबरका बिजोर संख्याले भाग गर्ने आयोगले जनाएको छ ।

यसरी सिट बाँडफाँट गरिसकेपछि कुन दलले कति सिट प्राप्त ग¥यो भन्ने जानकारी आयोगले सम्बन्धित दललाई दिन्छ । अनि दलहरू बन्दसूचीका आधारमा उम्मेदवारहरूको नाम पठाउनुपर्छ । अन्तिम मत परिणाम आएपछि आयोगले सिट बाँडफाँट गर्न बाँकी नै छ ।

समानुपातिक निर्वाचनमा विजयी सिट निस्केपछि दलले समानुपातिक कोटाभित्र प्राथमिकताक्रमका रहेका उम्मेदवारलाई निर्वाचित गराउन सिफारिस गर्छन् । यसरी सिफारिस गर्दा त्यस दलको राष्ट्रियसभामा रहेका र प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने विधिबाट निर्वाचित भएका सांसदको संख्याले कुन क्लस्टरमा कति निर्वाचित गर्ने निर्धारण हुन्छ  । संविधानमा भएको व्यवस्थाअनुसार दलित १३. दशमलव ८, आदिवासी जनजाति २८ दशमलव ७, मधेसी १५ दशमलव ३, थारू ६ दशमलव ६, मुस्लिम ४ दशमलव ४ र खसआर्य ३१ दशमलव २ निर्वाचित हुनुपर्छ  । यी सबै क्लस्टरमा ५० महिला अनिवार्य निर्वाचित गराउनुपर्छ  ।

समानुपातिक निर्वाचनमा पिछडिएको क्षेत्रबाट र अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ  । समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन कम्तीमा ११ जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाएको हुनुपर्छ  । ११ जनामा सबैको प्रतिशतअनुसार विभाजन गर्दा आदिवासी जनजाति ३, खसआर्य ३, थारू १, दलित २, मधेसी २ गरी ११ जना निर्वाचित हुन्छन्  । यी ११ जनामा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्छ  ।

समानुपातिकको सिट बाँडफाँट गरेपछि दलले प्रत्यक्षमा कति सिट जितेको छ, राष्ट्रिय सभामा कति सांसद छन्, तीमध्ये कति महिला छन् भन्ने हिसाब गरेर संघीय संसद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ । आयोगले सबै सर्त राखेर ‘क्लस्टर’अनुसार निर्वाचित भएको प्राथमिकताक्रम उपलब्ध गराउन पत्राचार गर्छ । पत्राचारपछि प्राप्त प्राथमिकताक्रम प्रतिनिधित्वको प्रतिशत हेरेर आयोगले विभिन्न दलबाट समानुपातिक प्रणालीमा निर्वाचित व्यक्तिहरूको सूची प्रकाशन गर्ने गर्दछ ।
प्रत्यक्षतर्फ कसको कति सिट ?
रास्वपा–१२२, अग्रता–३
कांग्रेस–१७, अग्रता ०
एमाले–७, अग्रता–३
नेकपा–७, अग्रता–१
श्रम संंस्कृति पार्टी–३ अग्रता ०
राप्रपा–१ अग्रता ०
स्वतन्त्र–१