कर्णालीमा कांग्रेसलाई राहत, वर्षौपछि फर्कियो विरासत

3.57k
Shares

सुर्खेत ।

 परम्परागत राजनीतिक शक्तिहरूमाथि ‘नयाँ लहर’ ले शहरी क्षेत्रका परम्परागत गढ र किल्लाहरू भत्काएको यो निर्वाचनमा नेपाली कांग्रेसलाई भने कर्णालीले ठूलो राहत दिएको छ ।

निर्वाचनको लगभग अन्तिम नतिजा आईसक्दा नेपाली कांग्रेसले देशभरबाट प्रत्यक्षतर्फ जितेका जम्मा १७ सिटमध्ये ५ सिट एउटै क्लस्टरबाट हात पार्नुलाई कर्णालीमा कांग्रेसको कमब्याकका रुपमा हेरिएको छ।कर्णालीमा कांग्रेसले कतै आफ्नो  उपस्थिति दोहोर्याको छ भने कतै दशकौंअघि गुमेको साख र विरासत फेरि फर्काउन सफल भएको छ ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि २०७४ को आम निर्वाचनसम्म आइपुग्दा कर्णालीमा कांग्रेसको साख ओरालो लागेको थियो। 

कहिले माओवादी प्रभाव, कहिले वाम एकता त कहिले आफ्नै  पार्टीले गर्ने चुनावी गठवन्धनले कांग्रेसलाई प्रायः दोश्रो, तेस्रो स्थानमा खुम्च्याएको थियो। 

तर, यसपटक अधिकांश क्षेत्रमा युवा पुस्ता र नयाँ अनुहार अघि सारेर एक्लै चुनावी मैदानमा उत्रिंदा पाएको ५ सिटको विजयले कांग्रेसलाई कर्णालीमा फेरि ’नम्बर १’ शक्तिको रूपमा उभ्याएको छ।

जाजरकोटमा ३१ वर्ष लामो रिक्तता

मुलुकमा प्रजातन्त्र बहाली भएपछिका सुरुवाती दुई चुनावमा एकतर्फी नतिजा आत्मसाथ गरेको कांग्रेसलाई जाजरकोटमा आप्mनो अस्तित्व फर्काउन ३१ प्रतीक्षा गर्नुपर्यो ।

उमेरले भर्खरै ४० टेकेका कांग्रेस उम्मेदवार खड्गबहादुर बुढाले ३१ वर्ष लामो खडेरी र रिक्तता तोड्दै कांग्रेसलाई जाजरकोटमा पुनर्जन्म दिएका छन् ।

यसअघिका तीन वटा निर्वाचनमा लगालग माओवादी नेता शक्तिबहादुर वस्नेतले एकलौटी प्रभाव देखाउँदै आएको जाजरकोटमा कांग्रेसले ३१ वर्षपछि ठूलो उलटफेर गर्न सफल भयो ।

त्यसअघि २०४८ मा द्धारिकाप्रसाद प्रधान र २०५१ मा झलकनाथ वाग्लेले जिते यता कम्युनिष्टहरुको जगजगी बढेको जाजरकोटमा वामपन्थीहरुको वर्चश्व तोड्न बुढा सफल भए।

माओवादीका प्रभावशाली नेता र देशको गृहमन्त्रीसमेत भैसकेका वस्नेतको लगातार चौथो पटक संसद छिर्ने यात्रामा तगारो बनेका बुढाले २ हजार ७ सय ३५ मतान्तरले रोके।

२०६४ देखि माओवादीले एकलौटी जित हातपार्दै आएको यो क्षेत्रमा पहिलो पटक उम्मेदवार बनेका बुढाले पहिलो प्रयासमै २० हजार १ सय ४२ मत पाए र जाजरकोटमा ३१ वर्षपछि कांग्रेसको साख फर्काए ।

तोडियो १२ वर्ष लामो खडेरी

२०७० सालको संविधानसभाको दोश्रो निर्वाचनपछि हुम्लामा पनि गुमेको विरासत फर्काउन कांग्रेसलाई ठ्याक्कै १२ वर्ष कुर्नपर्यो।

त्यो बेला जितेका जीवनबहादुर शाही प्रदेशस्तरको राजनीतिमा केन्द्रित भएपछि संघीय संसदको राजनीतिमा फर्किन कांग्रेसलाई हम्मे हम्मे परेको थियो । 

त्यसअघि २०५१ मा चक्रबहादुर शाहीले कांग्रेसबाट चुनाव जितेपछि त्यहाँ कांग्रेस बौरिन सकेको थिएन। चुनाव जित्ने कांग्रेसका दोश्रो उम्मेदवार शाही आफैलेपनि हुम्लामा कांग्रेस फर्काउन १९ वर्ष लाग्यो।

कांग्रेसको १२ वर्ष लामो खडेरी अहिले जयपति रोकायले तोडेका छन् । ८ हजार ७ सय ९७ मतका साथ विजयी भएका उनले ७ हजार २ सय ४३ मत पाएका नेपाली कम्युनिष्ट पार्टीका दीपेन्द्र रोकायलाई  १ हजार ५ सय ५४ मतले पाखा लगाए ।

यसैगरी, चुनावी गठवन्धनका कारण कहिले हलो त कहिले हसियाँ हथौडामा भोट हालेका दैलेख १ का मतदाताले १२ वर्षपछि आप्mनो पार्टीगत उम्मेदवारलाई जिताएर कांग्रेसको वर्चश्व प्रमाणित गरेका छन् ।

दैलेख क्षेत्र नं. १ मा कांग्रेस उम्मेदवार वासना थापाले  नेकपा एमालेका रवीन्द्रराज शर्मालाई पाँच सय ७६ को मतान्तरले पराजित गर्दै दैलेखमा कांग्रेस र महिला दुबै कमजोर नभएको प्रमाणित गरेकी छन् ।

यसअघि २०७० को दोस्रो संविधानसभा निर्वाचनदेखि यताका कुनैपनि चुनावमा कांग्रेसले अन्य दललसंगको सौदावाजीका कारण आप्mनो पार्टीगत उम्मेदवार उठाउने गरेको थिएन ।

देशैभरि नेपाली कांग्रेस बढारिंदा कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये ५ सिटमा कांग्रेसको झण्डा फहराउनुलाई राजनीतिक विश्लेषकहरूले पनि अर्थपूर्ण रूपमा हेरेका छन्। 

अनपेक्षित पराजयले शिथिल हुँदै गएका बेला कर्णालीमा वामपन्थीका किल्ला भत्काएर निकालेको अप्रत्याशित जित कांग्रेसका लागि उर्जा र अक्सिजनको काम गरेको सुर्खेतका राजनीतिक विश्लेषक पीताम्बर ढकाल बताउँछन् । 

‘यसले कांग्रेसलाई यहाँको जनमतमा अझै पनि गहिरो जरा रहेको प्रमाणित गरेको छ।’ उनले भने ‘दशकौंको संघर्ष र उतारचढावपछि कांग्रेसले पुनः आफ्नो पुरानो प्रभाव जमाउन थालेको संकेत यसले दिन्छ।’

तर, यो विरासतलाई टिकाइराख्न अबका ५ वर्ष कांग्रेसका लागि  असाध्यै चुनौतीपूर्ण हुने उनको विश्लेषण छ । ‘कर्णालीका मतदाताले दिएको यो विश्वासलाई विकास र सुशासनमा बदल्न नसके, अर्को निर्वाचनमा नयाँ लहरले कर्णालीको यो जनविश्वासपनि नभत्काउला भन्न सकिन्न’ उनले थपे ।