काठमाडौं।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपाली राजनीतिमा नयाँ बहसमात्र होइन, लैंगिक समानता र समावेशी लोकतन्त्रका पक्षमा पनि महत्वपूर्ण सन्देश दिएको छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ १४ जना महिला उम्मेदवार निर्वाचित भएका छन् । तीमध्ये १३ जना राष्ट्रिय स्वतन्त्र पार्टीबाट र एक जना नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।
निर्वाचित महिलामध्ये सात जना ४० वर्षमुनिका युवा रहेको तथ्यले नेपाली राजनीतिमा नयाँ पुस्ताको सहभागिता बढ्दै गएको संकेत पनि दिएको छ । यो परिणाम केवल व्यक्तिगत जितमात्र नभई महिलाको राजनीतिक नेतृत्व क्षमता र जनताको बदलिँदो सोचको प्रतीकका रूपमा पनि हेरिएको छ ।
विजय हुनेमा दैलेखबाट कांग्रेसकी वासना थापाको ऐतिहासिक विजय भएको छ । ४५ वर्षीया थापा यसअघि २०७४ सालमा दैलेखको नारायण नगरपालिका उपप्रमुख पदमा उम्मेदवार बन्नुभएको र पराजित हुनुभएको थियो ।
दैलेखमा पछिल्ला १२ वर्षदेखि गठबन्धनका कारण कांग्रेसले प्रतिनिधिसभामा उम्मेदवारी दिन नपाएको अवस्था थियो । यसपटक प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएको कांग्रेसले थापाको विजयमार्फत उल्लेखनीय उपलब्धि हासिल गरेको छ । त्यसै गरी नयाँ राजनीतिक शक्तिबाट महिला नेतृत्वको उदय राम्रो देखिएको छ । यस निर्वाचनमा महिला नेतृत्वको उल्लेखनीय उपस्थिति मुख्यतः राष्ट्रिय स्वतन्त्र पार्टीबाट देखिएको छ ।
कोशी प्रदेशमा मात्रै चार जना महिला निर्वाचित भएका छन् । झापा–१ बाट २९ वर्षीया निशा डाँगी विजयी हुनुभएकको छ । उहाँ पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आउनुभएको व्यक्ति हुनुहुन्छ । उहाँ यसअघि समानुपातिक सांसद तथा दलको सचेतक हुनुहुन्थ्यो । त्यस्तै, झापा–२ बाट ५५ वर्षीया इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ । सामाजिक अभियन्ता रानामगर जेलभित्रका बालबालिकाको शिक्षा र संरक्षणका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको थियो । उहाँ सन् २०१७ मा विश्वका प्रभावशाली महिलामध्ये एकका रूपमा अन्तर्राष्ट्रिय रूपमा पनि सम्मानित हुनुभएको थियो । त्यस्तै, मोरङ–५ बाट ४२ वर्षीया आशा झा निर्वाचित हुनुभएको छ । उहाँले मधेसी महिलाको अधिकार र सामाजिक न्यायका विषयमा लामो समयदेखि काम गर्दै आउनुभएको छ।
त्यसै गरी मोरङ–६ बाट ३१ वर्षीया रूविना आचार्यले नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई पराजित गर्दै विजय हासिल गर्नुभएको छ । उहाँ कोरोना महामारीको समयमा ‘तातो भात’ अभियानमार्फत चर्चामा आउनुभएको थियो । यसका साथै आचार्य महिला उद्यमशीलता र सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएको व्यक्तित्व हुनुहुन्छ ।
यतिमात्र नभई मधेस प्रदेशमा पनि महिला नेतृत्वको उपस्थिति राम्रो देखिएको छ । मधेस प्रदेशमा पनि तीन जना महिला उम्मेदवार प्रत्यक्ष निर्वाचित भएका छन् । सप्तरी–१ बाट ३६ वर्षीया पुष्पाकुमारी चौधरी विजयी हुनुभएको छ । उहाँ सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यका विषयमा लामो समयदेखि सामाजिक अभियानमा सक्रिय हुनुहुन्थ्यो । त्यस्तै, सर्लाही–१ बाट ४३ वर्षीया नितिमा भण्डारी कार्की निर्वाचित हुनुभएको छ । उहाँले खाद्य प्रविधि र व्यापार व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव हासिल गर्नुभएको छ । त्यसै गरी महोत्तरी–४ बाट ५४ वर्षीया गौरीकुमारी विजयी हुनुभएको छ । उहाँलाई मधेस क्षेत्रमा वैकल्पिक राजनीति र सामाजिक परिवर्तनको एजेन्डा अघि बढाउने व्यक्तित्वका रूपमा हेरिन्छ ।
त्यसै गरी संघको केन्द्रीय केन्द्र वागमती प्रदेशमा युवा महिला नेतृहरूको विजय भएको छ । वागमती प्रदेशबाट चार जना महिला उम्मेदवार विजयी भएका छन् । धादिङबाट ३६ वर्षीया आशिका तामाङ निर्वाचित हुनुभएको छ । सामाजिक अभियान र युवाको सक्रियताका कारण उहाँ चर्चामा आउनुभएकी व्यक्तित्व हुनुहुन्छ ।
काठमाडौं–१ बाट ३० वर्षीया रञ्जु दर्शना न्यौपाने निर्वाचित हुनुभएको छ । वैकल्पिक राजनीतिक धारबाट अघि बढ्नुभएकी उहाँ यसअघि काठमाडौं महानगरपालिकाको मेयर पदमा पनि उम्मेदवार बन्नुभएको थियो । त्यस्तै, ललितपुर–३ बाट ३६ वर्षीया डा. तोसिमा कार्की पुनः निर्वाचित हुनुभएको छ । उहाँ यसअघि रास्वपाबाटै विजयी हुनुभएको र स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको थियो ।
काठमाडौं–१ बाट ३० वर्षीया रञ्जु दर्शना न्यौपाने निर्वाचित हुनुभएको छ । वैकल्पिक राजनीतिक धारबाट अघि बढ्नुभएकी उहाँ यसअघि काठमाडौं महानगरपालिकाको मेयर पदमा पनि उम्मेदवार बन्नुभएको थियो । त्यस्तै, ललितपुर–३ बाट ३६ वर्षीया डा. तोसिमा कार्की पुनः निर्वाचित हुनुभएको छ । उहाँ यसअघि रास्वपाबाटै विजयी हुनुभएको र स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको थियो ।
चितवन–३ बाट ३० वर्षीया सोविता गौतम विजयी हुनुभएको छ । उहाँ युवा राजनीतिज्ञका रूपमा अन्तर्राष्ट्रिय स्तरमा समेत सम्मानित भइसक्नुभएको छ । त्यसै गरी अन्य प्रदेशमा पनि महिला प्रतिनिधित्व आउने क्रम जारी छ । गण्डकी प्रदेशको कास्की–३ बाट विना गुरुङ विजयी हुनुभएको छ र उहाँ पोखरामा व्यवसाय सञ्चालनसँगै सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको व्यक्तित्व हुनुहुन्छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको कैलाली–१ बाट कोमल ज्ञवाली निर्वाचित हुनुभएको छ । उहाँ लामो समयदेखि आर्थिक व्यवस्थापन र संगठनात्मक नेतृत्वमा सक्रिय रहँदै आउनुभएको थियो ।
नेपालमा महिला प्रतिनिधित्वको इतिहास लामो संघर्षले बनेको हो । २०१५ सालको पहिलो संसदीय निर्वाचनमा सात जना महिला उम्मेदवारमध्ये केवल द्वारिकादेवी ठकुरानी मात्र विजयी हुनुभएको थियो । त्यस्तै, २०४६ सालको प्रजातान्त्रिक आन्दोलनपछि प्रतिनिधिसभामा महिला सहभागिता विस्तारै बढ्दै गयो । २०६४ सालको संविधानसभा निर्वाचनमा पहिलो पटक निर्वाचन आयोगले ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेपछि ३३ प्रतिशत सम्भव भयो । यसपछि २०७२ सालमा जारी नेपालको संविधान २०७२ ले संघीय संसद्मा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य हुने व्यवस्था गरेको छ । २०७४ को निर्वाचनपछि प्रतिनिधिसभामा ९० महिला पुगेका थिए भने २०७९ मा ९२ महिला सांसद निर्वाचित भएका थिए ।
यसपटक प्रत्यक्ष निर्वाचनबाट १४ जना महिलाको विजयलाई लोकतान्त्रिक अभ्यासको सकारात्मक संकेतका रूपमा हेरिएको छ । तर, विश्लेषकहरूका अनुसार प्रत्यक्षतर्फ महिलाको संख्या अझै सीमित छ । संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत महिला सहभागिता पूर्ण रूपमा सुनिश्चित गर्न राजनीतिक दलहरूले उम्मेदवारी चयनमै महिलालाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ । विशेषगरी प्रत्यक्ष निर्वाचनमा महिलालाई प्रतिस्पर्धात्मक अवसर दिनु लोकतन्त्रको गुणस्तर सुधारका लागि पनि महत्वपूर्ण मानिन्छ ।
यस निर्वाचनले नेपाली राजनीतिमा महिलाको नेतृत्व क्षमता, जनताको बदलिँदो सोच र समावेशी लोकतन्त्रप्रतिको प्रतिबद्धता झल्काएको छ । प्रत्यक्ष निर्वाचनबाट निर्वाचित महिलाहरूको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई महिला नेतृत्वप्रतिको जनविश्वासको संकेत पनि हो । अब राजनीतिक दलहरूले संविधानको भावनाअनुरूप कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने नीतिगत प्रतिबद्धता व्यवहारमै लागू गर्नुपर्ने चुनौती छ । महिला नेतृत्वलाई अवसर, जिम्मेवारी र नीति निर्माणमा सक्रिय भूमिका प्रदान गर्न सकिएमात्र समावेशी लोकतन्त्रको लक्ष्य सुदृढ हुने विश्लेषकहरूको भनाइ छ । यसपटकको परिणामले एउटा स्पष्ट सन्देश दिएको छ— नेपाली लोकतन्त्रको भविष्य समावेशी, युवा र महिला नेतृत्वको सहभागितासँगै अघि बढ्नेछ ।











प्रतिक्रिया