धनुषा ।
धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका मातृकाप्रसाद यादवलाई निर्वाचन आयोगले हालसम्म निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीले आपत्ति जनाएको छ।
पार्टीका केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यद्वारा जारी प्रेस वक्तव्यमा निर्वाचन आयोगको फागुन १८ गतेको बैठकले रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी निर्वाचन ऐन, २०७४ बमोजिम खारेज गरिसकेको अवस्थामा शान्तिपूर्ण मतदान र मतगणना सम्पन्न भई परिणाम सार्वजनिक भइसकेपछि पनि विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिनु गम्भीर विषय भएको उल्लेख गरिएको छ।
वक्तव्यमा आयोगकै निर्देशनअनुसार फागुन २२ गते सबै उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतगणना सम्पन्न भई मातृकाप्रसाद यादव विजयी भएको बताउँदै पनि प्रमाणपत्र वितरणमा ढिलाइ हुनु निर्वाचन प्रक्रिया र स्थापित विधि विपरीत भएको भन्दै चिन्ता व्यक्त गरिएको छ।
पार्टीले निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासन पालना गर्न र कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गरेको छ। साथै न्यायालयले पनि कानुन र विधिसम्मत ढंगले उचित निर्णय गर्ने विश्वास व्यक्त गरिएको छ।
नेपाली कम्युनिष्ट पार्टी प्रेस वक्तव्य
धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि हाम्रो पार्टीका उम्मेदवार श्री मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि उहाँलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेकोमा पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।
निर्वाचन आयोगको २०८२ फागुन १८ गते सम्पन्न बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार श्री किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना समेत सकिँदा पनि विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान नगरिनु गम्भीर सरोकारको विषय हो। निर्वाचन आयोग स्वयंले फागुन २२ गते मत गणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन बमोजिम सबै उम्मेदवारका प्रतिनिधिहरुको उपस्तिथिमा मतगणनासमेत भई हाम्रो पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गर्नुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधि विपरितका कार्य हुनु चिन्ताजनक विषय हो ।
कसैको कानुनसम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको अवस्थामा उम्मेदवार नै नरहेको व्यक्तिसँग सम्बन्धित भनेर प्रमाणपत्र नै वितरण नगर्नु कानुनसम्मत देखिँदैन। हाम्रो पार्टी निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शाषन पालना गर्न र कुनै पनि राजनीतिक दवावमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गर्दछ । साथै न्यायालयले पनि कानून र विधिसम्मतढंगले सही निर्णय गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछ । मितिः २०८२ फागुन २५ गते गोविन्द आचार्य सचिव, केन्द्रीय कार्यालय नेपाली कम्युनिष्ट पार्टी











प्रतिक्रिया