म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन विजयी, विजय जुलुस नगर्न आग्रह


काठमाडौँ।

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा डा. महावीर पुन निर्वाचित भएका छन्। उनले २२ हजार ८५० मत प्राप्त गर्दै जीत हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै पुनले समर्थक तथा मतदातालाई विजय जुलुस निकाल्न नआउन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले बेनीमा विजय जुलुसका लागि पैसा र समय खर्च गरेर नआउन अनुरोध गर्दै चुनावमा पराजित प्रतिस्पर्धीहरूलाई उडाउनु उचित नहुने बताएका छन्।

उनले आगामी दिनमा सबै पक्षसँग मिलेर म्याग्दीको विकासका लागि काम गर्नुपर्ने भएकाले नारा, जुलुस, भोजभतेरजस्ता आडम्बरी कार्यक्रम आफूलाई मन नपर्ने स्पष्ट पारेका छन्। आफ्नो जीतमा खुसी मनाउन चाहनेहरूलाई भने आफ्नै गाउँघरमा साधारण रूपमा मनाउन उनले आग्रह गरेका छन्।