बहिष्कार गरेकाको खर्च १७ हजार


हेटौंडा ।

प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उम्मेदवारी दिए पनि पूर्वराजा ज्ञानेन्द्र शाहको फागुन ६ गतेको सम्बोधनको समर्थन गर्दै उम्मेदवारी फिर्तासहित बहिष्कार गर्नुभएका राकेशकुमार शर्माले फागुन ७ गतेसम्म निर्वाचनका लागि आफ्नो १७ हजार रुपियाँ खर्च भएको सार्वजनिक गर्नुभएको छ ।

उहाँले फागुन ८ गते निर्वाचन बहिष्कार गरिए पनि फागुन ७ गतेसम्म निर्वाचनमा एकमुष्ट १७ हजार खर्च भएको व्यहोरा सार्वजनिक गर्नुभएको हो । उहाँ हाल हेटौंडा उपमहानगरपालिका वडा–२ मा बसोबास गर्दै आउनुभएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले फागुन ६ गते राष्ट्रलाई सम्बोधन गर्दै वर्तमान राष्ट्रिय संकट, राजनीतिक अस्थिरता तथा जनअसन्तुष्टिको अवस्थाबारे स्पष्ट संकेत गरेको र उक्त सम्बोधनले देश गम्भीर मोडमा पुगेको तथ्य उजागर गरेको भन्दै शर्माले निर्वाचन नै बहिष्कार गर्नुभएको थियो ।

उहाँले जनभावना, राष्ट्रियहित र दीर्घकालीन स्थिरतालाई बेवास्ता गर्दै गरिने निर्वाचन प्रक्रियाले निर्वाचनपछि मुलुकमा झन् द्वन्द्व, विभाजन र अन्यौलता बढाउने जोखिम देखिने दाबी गर्नुभएको थियो । अतः सर्वपक्षीय सहमति, संवैधानिक स्पष्टता र राष्ट्रिय एकता सुनिश्चित नभएसम्म हुने निर्वाचन प्रक्रियामा आफ्नो कुनै प्रकारको सहभागिता नरहने उहाँले स्पष्टरुपमा घोषणा गर्नुभएको थियो ।

‘यस निर्णयमार्फत म उक्त निर्वाचन औपचारिकरुपमा बहिष्कार गरी मकवानपुर क्षेत्र नम्बर–१ बाट उम्मेदवारी फिर्ता लिएको जानकारी गराउँदछु,’ शर्माले उक्त कदम शान्तिपूर्ण राजनीतिक असहमति र वैधानिक अभिव्यक्तिको अधिकारअन्तर्गत लिइएको बताउनुभयो ।

पूर्वराजा शाहले सन्देशका भन्नुभएको थियो–हालको चुनावले मात्र सबै समस्याको समाधान निस्कँदैन । पहिला सबै पक्षबीच सहमति गरेरमात्र चुनावमा जानु उपयुक्त हुन्छ । आवधिक निर्वाचन एक स्वभाविक प्रक्रिया भए पनि मुलुकमा पहिले राष्ट्रिय समस्या समाधान गरेरमात्र निर्वाचनमा जानु उचित हुने र निर्वाचनप्रति कुनै द्वन्द्व र अशान्ति नहोस् भनेर राष्ट्रिय सहमति र समझदारी गरेर निर्वाचनमा जाँदा नै सही बाटो हुने थियो । उक्त क्षेत्रमा २१ उम्मेदवार थिए ।