काठमाडौँ।
युक्रेनले रुसमाथि व्यापक ड्रोन आक्रमण गरेको छ। आक्रमणपछि राजधानी मस्कोका सबै चार अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएका छन् भने कम्तीमा ११ वटा ड्रोन मस्को वरपर खसालिएको जनाइएको छ।
रातभर रुसका विभिन्न क्षेत्रमा ड्रोन आक्रमण भएको रुसी पक्षले जनाएको छ। विशेषगरी सीमावर्ती बेलगोरोड क्षेत्रमा बढी क्षति पुगेको बताइएको छ। स्थानीय अधिकारीहरूका अनुसार आक्रमणमा केही सर्वसाधारण घाइते भएका छन्, जसमा तीन वर्षीया बालिका पनि परेकी छन्।
रुसी रक्षा मन्त्रालयले आइतबार जारी गरेको वक्तव्यअनुसार वायु प्रतिरक्षा प्रणालीले ९ वटा क्षेत्रमा जम्मा ८६ वटा युक्रेनी मानवरहित हवाई सवारी (यूएभी) अवरोध गरी नष्ट गरेको छ। सबैभन्दा धेरै २९ वटा ड्रोन बेलगोरोड क्षेत्रमा खसालिएको दाबी गरिएको छ। त्यसपछि केन्द्रीय रुसको सारातोभ क्षेत्रमा १४ वटा ड्रोन नष्ट गरिएको जनाइएको छ।
रुसको सरकारी सञ्चारमाध्यम RTका अनुसार बेलगोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले सीमाबाट करिब १० किलोमिटर टाढा क्रासिभो गाउँ नजिक एक कारमाथि ड्रोन आक्रमण भएको जानकारी दिएका छन्। उक्त घटनामा एक पुरुष र तीन वर्षीया बालिका गम्भीर घाइते भएका छन् र उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।
गभर्नर ग्लाडकोभका अनुसार अन्य दुई छुट्टाछुट्टै आक्रमणमा एक महिलासहित तीन जना घाइते भएका छन्। आक्रमणका कारण आवासीय अपार्टमेन्ट तथा व्यावसायिक भवनमा जडित ग्यास पाइपलाइन र विद्युत् लाइनमा क्षति पुगेको छ। साथै एक पूर्वाधार स्थलमा पनि क्षति हुँदा केही घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको जनाइएको छ।
रुसी पक्षले युक्रेनमाथि आतंकवादी शैलीमा सर्वसाधारण र अत्यावश्यक पूर्वाधारलाई जानाजानी लक्षित गरेको आरोप लगाएको छ। स्थानीय अधिकारीहरूका अनुसार ऊर्जा केन्द्रमा क्षति पुगेपछि ठूलो क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको र पानी आपूर्तिसमेत प्रभावित भएको छ।
युक्रेनी पक्षबाट भने यस घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। पछिल्लो समय दुवै देशबीच ड्रोन तथा मिसाइल आक्रमणको शृंखला तीव्र बन्दै गएको छ। एजेन्सी।











प्रतिक्रिया