काठमाडौं ।
मलेसियाको सुलु सागर क्षेत्रमा सोमबार शक्तिशाली भूकम्प गएको छ। United States Geological Survey (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार बिहान १२ः५७ बजे ७.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।
भूकम्पको केन्द्रविन्दु मलेसियाको सबाह राज्यको तटीय क्षेत्रबाट केही टाढा समुद्रमुनि रहेको जनाइएको छ। यसको गहिराइ करिब ६२० किलोमिटर रहेको यूएसजीएसले उल्लेख गरेको छ, जसका कारण सतहमा ठूलो क्षति हुन नपाएको प्रारम्भिक अनुमान गरिएको छ।
सबाहको वारुण नियन्त्रण तथा उद्धार विभागका अनुसार हालसम्म कुनै पनि भौतिक पूर्वाधारमा क्षति वा मानवीय हताहतीको विवरण प्राप्त भएको छैन। यद्यपि सम्भावित जोखिमलाई ध्यानमा राख्दै समुद्री किनार तथा संवेदनशील क्षेत्रमा निगरानी बढाइएको छ।
Malaysian Meteorological Department ले सर्वसाधारणलाई अनावश्यक रूपमा नआत्तिन र आधिकारिक सूचनामाथि मात्र विश्वास गर्न आग्रह गरेको छ। विभागका अनुसार हालसम्म सुनामीको चेतावनी जारी गरिएको छैन।
भूकम्पका कारण सबाह र सारावाकका बासिन्दाहरूले केही सेकेन्डसम्म हल्का कम्पन महसुस गरेका थिए। साथै छिमेकी मुलुक फिलिपिन्स, ब्रुनाई र सिंगापुरका केही अग्ला भवनहरूमा समेत हल्का धक्का महसुस गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्थानीय प्रशासनले अवस्थाको निरन्तर अनुगमन गरिरहेको जनाएको छ भने थप विवरण आउन बाँकी रहेको छ।











प्रतिक्रिया