आहा रारा पोखरा गोल्डकप सडन डेथमा भाग्यमानी बन्दै सहारा फाइनलमा

658
Shares


कास्की ।

सडन डेथमा फेरी एकपटक भाग्य चम्किँदा सहारा क्लब ९ वर्षपछि आहा रारा पोखरा गोल्डकपको उपाधि निकट पुगेको छ । पोखराको मैदानमा निकै भाग्यमानी क्लबको रुपमा दरिएको मनाङ मस्र्याङ्दी क्लब बुधबार अभागी बन्ने क्रममा सहारा क्लबसँग सडन डेथमा पराजित हुन पुग्यो ।

निर्धारित र थपिएको अतिरिक्त समयमा खेल दुवै टोलीले गोलरहित टुग्याएका थिए । पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि निर्णय सडन डेथमा पुग्यो । सडन डेथमा सहाराका कप्तान शुशिल लामाको प्रहार गोल (७—६) भएपछि चौथो पटक फाईनल यात्रा तय गर्यो ।

अन्तिम पेनाल्टी हानेका सुरेश कुमालको प्रहार सहाराका गोलकिपर टिकेन्द्र थापाले बचाएपछि मनाङले सातौं पटक उपाधि उचाल्ने होडबाट बाहिरिन पुग्यो । निरन्तर फाईनल खेल्दै आएको मनाङको यात्रा सेमिफाईनलबाट टुंगिदाँ सहाराले उपाधिको लागि बिहीबारको विजेतासँग खेल्ने छ ।

सहारा २०६९ मा गोल्डकपको इतिहासमा पहिलो पटक फाईनल प्रवेश गरेको थियो । त्यसपछि २०७० मा दोस्रो पटक फाईनल खेल्यो । २०६९ मा थ्रीस्टारसँग पराजित हुदैं उपाधिविहीन बन्यो । २०७० मा मनाङ मस्र्याङ्दीसँग पराजित हुदैं उपाधि घरमै राख्ने अभिलाषा पुरा हुन सकेको थिएन् ।

२०७३ सालमा फाईनलमा मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै (बाह्रौं सँस्करण)को उपाधि उचालेको सहाराले २०८२ मा मनाङलाई नै पराजित गरेर दोस्रोपटक उपाधि उचाल्ने संघारमा पुग्यो ।

सहाराले घरेलु मैदानमा मनाङ विरुद्धको प्रदर्शन लोभलाग्दो भने रहेन । यद्यपी केही राम्रा अवसर सृजना गरेपनि गोलरहित निराशमा दुईघण्टाको समय मैदानमा वितायो । खेलको पहिलो मिनेटमै सहाराका विक्की चामलिङ राईको प्रहार क्रसबारमाथिबाट बाहिरियो । मुकुन्द निउरेको पासमा राईको ८ यार्डबाट हिर्काएको बल हावामा उडेको थियो ।

२२ औं मिनेटमा मनाङका नवराज गुरुङको क्रसबल क्रसबारमा लागेर फर्किएको थियो । खेलको ६८ मिनेटमा सहाराका गणेश हमालको बल बाहिरिन पुग्यो । गोलकिपरबाट रिवाउण्ड भएको बललाई भली प्रहार गरेपनि बाहिरिदाँ सहारा अग्रता लिने अर्को अवसरबाट चुृक्न पुग्यो ।

मनाङका प्रशिक्षक अनिल तामाङले खेलाडीले राम्रो खेल देखाएको बताए । पोलमा लागेर बल फर्किनु नै दुर्भाग्य भएको बताउँदै उनले खेलाडीलाई विश्राम कम हुदाँ धेरै खेलाडी घाईते भएको प्रतिक्रिया दिए । खेलाडी घाईते हुदाँ पेनाल्टीमा चुक्न पुगेको उनको भनाई थियो ।

सहाराका प्रशिक्षक सुनिल रानाले खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रहेको बताए । उनले अब उपाधि रक्षा गर्ने गरी आवश्यक तयारी गरिने समेत बताए । खेलमा सहाराका डिफेन्स टाय डिनियल बादारु प्लेयर अफ दि म्याच घोषित भए । सहारा क्लबको आयोजना तथा हिमश्री फुड्सको मुख्य प्रायोजनमा आयोजित २५ औं आहा रारा पोखरा गोल्डकपको दोस्रो सेमिफाईनल जावलाखेल युथले पाहुनाटोली उज्बेकिस्तानको आभा फुटबल क्लबसँग खेल्ने छ ।