हेरी केन ५०० गोलमा पुगे


लन्डन, (एजेन्सी)

हेरी केन आधिकारिक रूपमा प्रोफेसनल फुटबलमा ५०० गोल गर्ने पहिलो इंग्लिस फुटबलर बनेका छन् । बायर्न म्युनिखका स्ट्राइकरले शनिबार वेर्डर ब्रेमेनविरुद्ध दुई गोल गर्दै यो उपलब्धि हासिल गरेका हुन् ।

केन गत दिसेम्बरमा नै जिमी ग्रिभ्सको ४७४ गोललाई पछि पारी सबैभन्दा धेरै गोल गर्ने इंग्लिस फुटबलर बनेका थिए । यो जारी सिजन केनका लागि अर्को उल्लेखनीय गोल–स्कोरिङ सिजन सावित भएको छ । उनले केवल २२ बुन्डेसलिगा खेलमा २६ गोल गरिसके ।

मेसी छिटो

प्रोफेसनल फुटबलमा सबैभन्दा छिटो ५०० गोल गर्नेमा अर्जेन्टिनी स्टार लियोनेल मेसी अग्रपंक्तिमा रहेका छन् । उनी अप्रिल २०१६ मा ६३२ खेल खेल्दै ५०० प्राफेसनल गोलमा पुगेका थिए । केन उनीभन्दा धेरै खेल खेल्दै ७४३ खेलमा ५०० प्रोफेसनल गोलमा पुगे । तर, उनी क्रिस्टियानो रोनाल्डोभन्दा भने छिटो भएका छन् । पोर्चुगिज स्टार रोनाल्डोले यो उपलब्धि २०१५ मा ७५३ खेलमा प्राप्त गरेका थिए ।

केनका गोलहरू

–१७ वर्षको उमेरमा सन् २०११ मा पहिलो प्रोफेसनल फुटबलमा गोल गरेको ।

–लेस्टर सिटीका लागि २, लेयटन ओरिन्टका लागि ५, मिलवालका लागि ९, टोटनहामका लागि २८० र बायर्न म्युनिखका लागि १२६ गोल गरेको ।

–इंग्ल्यान्डका लागि ७८ गोल गरेको ।