गोदावरी नगरपालिकाका पूर्व इन्जिनियर विष्टविरुद्ध भ्रष्टाचारको मुद्दा


काठमाडौं ।

ललितपुरको गोदावरी नगरपालिकामा इन्जिनियर पदमा करारमा कार्यरत रहँदा सुवास विष्टले पाँच वर्षको अवधिमा अनियमितता गरी झन्डै २ करोड रुपियाँ आम्दानी गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान गरेको छानबिनका क्रममा २०७६ साल फागुन १ गते नियुक्ति पाएका विष्टले सम्पत्ति विवरण बुझाएको मिति २०८१ श्रावण १४ गतेसम्मको अवधिमा सो सम्पत्ति आर्जन गरेको तथ्य खुलेको हो ।

विष्टको जीवनशैली अस्वाभाविक र पदको हैसियतअनुसार नमिल्दो भएको आशंका गरी आयोगमा उजुरी परेको थियो । उजुरी परेको महिनौं दिनपछि आयोगले छानबिन गर्दा विष्टले अनियमितता गरेर झण्डै २ करोड रुपियाँ कमाएको पाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानले बताउनुभयो ।

विष्टले कमाएको १ करोड ९७ लाख १० हजार १ सय ५७ रुपियाँ ६३ पैसा बराबरको सम्पत्ति स्रोत नखुलेको भन्दै आयोगले विशेष अदालतमा भ्र्रष्टाचारको मुद्दा दायर गरेको छ । जागिरे अवधिमा कमाएको र खर्चको गरेको बीच तारतम्यता नदेखिएको आयोगको प्रारम्भिक अनुसन्धानले देखाएपछि मुद्दा दायर गरेको प्रवक्ता न्यौपानेको भनाइ छ । आयोगले विष्ट र निजको एकाघर परिवारका सदस्यहरूले उक्त अवधिमा आर्जन गरेका वैधानिक आय तथा सोही अवधिमा निजले विभिन्न शीर्षकहरूमा गरेको प्रमाणित खर्चहरूलाई व्ययको रूपमा गणना गरी समग्र अध्ययन विश्लेषण गरेको थियो ।

विष्ट र उनको एकाघर परिवार÷सगोलमा रहेको व्यक्तिहरूले सो अवधिमा १ करोड २७ लाख ७४ हजार ६ सय ७३ रुपियाँ २९ पैसा आर्जन गरेका थिए । यही नै विष्टको वैधानिक आय रहेको आयोगको छानबिनले देखाएको छ । पाँच वर्षको अवधिमा विष्ट र उहाँको परिवारले गरेको खर्चलाई आधार मान्दा विष्टको वैधानिक आय तोकिएको आयोगले जनाएको छ ।

विष्टले पाँच वर्षमा वैधानिक आय आर्जनको स्रोतहरूमा निजको सार्वजनिक सेवा प्रवेश पूर्वको एकासगोल परिवारको बैंक तथा वित्तीय संस्थाहरूमा रहेको मौज्दात, पारिश्रमिक, भत्ताको बचत रकम, श्रीमतीको तलब वचत रकम, ऋण सापटी रकम र सेयर बिक्रीबाट प्राप्त रकमलाई लिइएको छ । त्यसै गरी, सोही अवधिमा विष्टले ३ करोड २४ लाख ८४ हजार ८ सय ३० रुपियाँ ९२ पैसा खर्च गरेको आयोगले जनाएको छ ।

व्ययमा जग्गा खरिद, घर निर्माण, सेयर खरिद भएको खर्च, निजको छोराको अध्ययन खर्च, बैंक तथा वित्तीय संस्था एवं सहकारीबाट लिएको ऋण सापटीको साँवा र व्याजलाई लिइएको छ । त्यसै गरी विभिन्न कम्पनीमा पुँजी लगानी, बिमा प्रिमियम भुक्तानीवापत र निज तथा एकासगोल परिवारका सदस्यहरूको नाममा बैंक तथा वित्तीय संस्थाहरूको खातामा भएको मौज्दात रकमसमेतलाई व्ययका रूपमा लिइएको छ ।

आफ्नो हैसियतभन्दा बढी रकम बराबरको आफ्नो र परिवारको नाममा विभिन्न कम्पनीको सेयर, जग्गा, अध्ययन खर्च, घर निर्माण तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा रकम जम्मा गरेको देखिएको आयोगले जनाएको छ ।
विष्टको वैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएको जानकारी दिँदै प्रवक्ता न्यौपानले भन्नुभयो– ‘वैधानिक रूपले आर्जित सम्पत्तिको अनुपातमा मनासिब नदेखिने किसिमको विष्ट र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्चस्तरको जीवन यापन गरेको देखिन आएको छ ।

’ विष्टविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार गैरकानुनी तवरले आर्जन गरेको सम्पत्ति जफत एवं असुल गर्न मागदाबी लिएको छ । आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिबाट बढाई हाल कायम रहेको सम्पत्ति समेतबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम बिगो र जरिवाना जफत गरी पाउन अख्तियारले मागदाबी लिएको छ ।

गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरू बुबाको नाममा रहेको देखिँदा निज विष्ट र उहाँका बुबा सुदर्शन विष्टका सम्पत्तिहरू जफत गर्न पनि मागदाबी लिइएको छ । सम्पत्ति जफत गर्नको लागि मात्रै निजका बुबालाई प्रतिवादी बनाइएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, ४८ को दफा २९ ख बमोजिम जफत गर्ने प्रयोजनका लागिमात्र उहाँलाई समेत प्रतिवादी कायम गरिएको थियो ।