काठमाडौं बन्यो विश्वकै प्रदूषितमध्येको सहर

1.03k
Shares

–राजधानीको एकबाहेक सबै क्षेत्र अस्वस्थ
–टेकुमा हरियो, अरू सबै राताम्मे

वातावरणविद्का अनुसार २०० देखि ३०० सम्म धेरै अस्वस्थ अर्थात् सबै व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या देखिन सक्ने र ३०१ देखि ५०० सम्म अति खतरनाक अथवा सबै मानिसमा स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने छ ।

काठमाडौं ।

वायु प्रदूषणमा विश्वको आठौं स्थानमा रहेको नेपालको राजधानी काठमाडौंको एक स्थानबाहेक सबैको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अस्वस्थकर देखिएको छ । राजधानीको १८ स्थानमा वायु प्रदूषण मापन यन्त्रको सूचकांकमा टेकुबाहेक सबै अस्वस्थ देखिएको छ । स्वस्थकर हुन एयर क्वालिटी इन्डेक्स (एक्यूआई) शून्यदेखि ५० हुनुपर्छ ।

कामपाले त्यसलाई हरियो रङको प्रतीक मानेको छ । टेकुको वायु प्रदूषण सूचकांक ४५ देखिएको छ । यो स्वस्थकर हो । तीबाहेक सबै स्थानमा अस्वस्थकर छ ।

कामपा वातावरण व्यवस्थापन विभागले राजधानीमा जडान गरेको वायु गुणस्तर निगरानी बोर्डमा वायु प्रदूषणको अवस्थाबारे उल्लेख गरेको छ । बोर्डमा कलंकी र चाबहिलको अवस्था देखाएको छैन । राजधानीमा वायु प्रदूषण बढेपछि कामपाले जथाभावी आगो नबाल्न आग्रह गरिरहेको छ ।

कामपाले स्वयम्भूस्थित १५ वडा कार्यालय, बालाजु बाइसधारा, डल्लु, थापाथली, क्षेत्रपाटी, नयाँ बसपार्क र जडीबुटीमा उपकरण जडान गरेको छ । त्यस्तै, कोरक्षेत्रको असनचोक, कमलादी, बौद्ध, पुरानो बानेश्वर, शान्तिनगर वडा कार्यालय, चाबहिल चोक, लैनचौर, हाँडीगाउँ र रत्नपार्कमा एक्यूआई परीक्षण यन्त्र जडान गरेको थियो । नेपाल समाचारपत्रले साँझ ५ बजे वायु गुणस्तर सूचकांक अध्ययन गर्दा सबैतिर अस्वस्थकर वायु भएको पाइएको थियो ।

एक्यूआईको रिपोर्टअनुसार ५१ देखि १०० लाई मध्यमस्तर मानिन्छ । कामपाले त्यसलाई पहेँलो रङको प्रतीक जनाएको छ । महानगरको टेकुबाहेक सबै क्षेत्रमा अस्वस्थकर देखिएको छ । अर्थात् ती स्थानमा रातो संकेत देखाएको छ । कामपाभित्र सबै स्थानमा १६० माथि देखिएको छ ।

यसको अर्थ ती क्षेत्रको एक्यूआई १५१ देखि २०० को बीचमा छ । बालाजु बाइसधारामा १६३, कमलादी १७०, चाबहिल चोक र कलंकी चोकमा डाटा नभएको उल्लेख छ । लैनचौरको १६८ छ । सबै व्यक्तिको स्वास्थ्यमा असर पर्ने र संवेदनशील समूहका लागि जोखिम हुनसक्ने भएकाले यो मापदण्डलाई अस्वस्थकर मानिएको छ । सबैभन्दा अस्वस्थकर क्षेत्र कमलादी भएको छ ।
तथ्यांकअनुसार स्वयम्भुको १५ वडा कार्यालय १६१, डल्लु १६६, थापाथली १६४, क्षेत्रपाटी १६२, जडीबुटीचोक १६५, असनचोक १६३, बौद्ध क्षेत्र १६८, पुरानो बानेश्वर १५९, शान्तिनगर १७६ र हाँडीगाउँको १६९, रत्नपार्क ११७, वायु प्रदूषण संवेदनशील समूहका लागि अस्वस्थ छ । रत्नपार्कमा भने सुन्तला रङ देखिएको छ । अर्थात् रत्नपार्क क्षेत्रमा ११७ एक्यूआई छ ।

वातावरणविद्का अनुसार २०० देखि ३०० धेरै अस्वस्थ अर्थात् सबै व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या देखिन सक्ने र ३०१ देखि ५०० सम्म अति खतरनाक सबै मानिसमा स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने उल्लेख छ । कामपा वातावरण व्यवस्थापन विभागले धेरै अस्वस्थलाई बैजनी र खतरनाकलाई गाढा खैरो प्रतीक उल्लेख गरेको छ । जाडो याममा खुला स्थानमा आगो बाल्ने, निर्माण सामग्रीको धुलो र लामो समयसम्म वर्षा नहुने कारणले वायु प्रदूषण बढेको हो ।

वायु प्रदूषणका कारण दम, फोक्सोका रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदयरोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने भएकाले बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीलगायत संवेदनशील समूहलाई विशेष सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

कामपाभित्रको वायु प्रदूषण केवल यस क्षेत्रभित्रका गतिविधिहरू वा स्थानीय स्रोतहरूका कारणमात्र नभई, समग्र उपत्यकाभरिका स्रोत, सीमापार प्रदूषण, अन्य क्षेत्रीय स्रोत र उपत्यकाको भौगोलिक बनावटबाट उत्पन्न साझा चुनौतीलाई मनन गर्दै उपकरण जडान गरेको कामपाको भनाइ छ ।

त्यसैले महानगरवासीलाई वास्तविक समयको वायु गुणस्तरसम्बन्धी जानकारी गराउने जिम्मेवारीबाट अभिप्रेरित ड्यासबोर्ड सञ्चालन गरेको थियो । प्रदूषणबाट स्वास्थ्यमा पर्ने जोखिम घटाउन र दैनिक गतिविधिहरूमा अनुकूलता ल्याउन सहयोग पु¥याउन, वायु प्रदूषण नियन्त्रणमा व्यक्तिगत योगदानलाई प्रोत्साहन र स्थानीय तथा राष्ट्रिय स्तरमा प्रभावकारी नीतिनिर्माणमा सहयोग पु¥याउन उपकरण जडान गरेको हो ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले राजधानीमा लुकेर आगो बाल्दा र छिमेकी मुलुकबाट प्रदूषणसहितको धुलोधूवाँको कारण राजधानीमा वायु प्रदूषण बढेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी स्वस्थ वातावरण कायम गर्न निरन्तर पहल गरिरहेका छौं, सबैको सहयोग नभएर समस्या बढेको छ ।’ राजधानीको वायु प्रदूषण अस्वस्थताको तह पार गरेपछि महानगर सचेत भएको छ । कामपा वातावरण व्यवस्थापन विभागले घरबाहिर निस्कँदा मास्क लगाउन आग्रह गरेको छ ।

यसैबीच रियल टाइममा मापन गर्ने स्विट्जरल्यान्डको आईक्यू एयरका अनुसार काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १४७ छ । विश्वको प्रदूषित सहरमध्ये काठमाडौं आठौं माथि छ । जबकि, १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ काठमाडौं आज समग्रमा संसारकै अस्वस्थ सहरमध्ये आठौं स्थानमा छ । पहिलो स्थानमा पाकिस्तानको लाहोर, बंगलादेशको राजधानी ढाका छ । लाहोरको एक्यूआई २१३ र ढाकाको २०१ छ । भारतको दिल्ली छैटौं स्थानमा छ । दिल्लीको वायु प्रदूषण १६४ र इराकको बग्दादको १६२ छ । भारतको मुम्बईको १३६ र कलकत्ताको १३४ छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । २०१ देखि ३०० सम्मको एक्यूआईलाई अति अस्वस्थ अवस्थाको वायु भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० सम्मलाई अति खतरा मानिन्छ ।

सिंहदरबारभित्र आगो बालियो
काठमाडौं महानगरपालिकाले प्रदूषण नियन्त्रण गर्न आगो नबाल्न गरेको आग्रहलाई सिंहदरबारभित्र आगो बालेको छ । कामपा वातावरण विभागले पटकपटक आगो नबाल्न आग्रह गरेको थियो । तैपनि आगो बालिएको छ ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले सिंहदरबारबाटै कामपाको आग्रह अस्वीकार गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले पटकपटक सूचना जारी गरेका छौं । भेटेरै र टेलिफोनबाट आगो नबाल्न आग्रह गरेका थियौं तैपनि अटेर गरेर लगातार आगो बालिरहेका छन् ।’ सिंहदरबारमात्र होइन । बानेश्वरस्थित संसद् भव पछाडि पनि फोहोर जलाइरहेका छन् ।