लिबियामा उद्धार मिसनकै क्रममा हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु


काठमाडौं/ बेंगाजी।

पूर्वी लिबियाको कुफ़्रा क्षेत्रस्थित अल-सर्रा एयर बेस नजिकै भएको हेलिकोप्टर दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका छन्। मरुभूमिमा भएको सडक दुर्घटनामा घाइते भएका सैनिकलाई उद्धार गर्न गएको हेलिकोप्टर आफैँ दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा हेलिकोप्टरमा सवार सैनिक, स्वास्थ्यकर्मी तथा चालक दलका सदस्यहरूको मृत्यु भएको पुष्टि अधिकारीहरूले गरेका छन्। उद्धार कार्यका क्रममा प्राविधिक समस्या वा खराब मौसमका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ, यद्यपि वास्तविक कारणबारे अनुसन्धान जारी छ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले हेलिकोप्टरमा दुई विदेशी नागरिक पनि सवार रहेको दाबी गरे तापनि लिबियाली सुरक्षा निकायले यस विषयमा अहिलेसम्म औपचारिक पुष्टि गरेका छैनन्।

घटनापछि सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने दुर्घटनास्थलबाट अवशेष संकलन गरी थप छानबिन थालिएको जनाइएको छ।