निर्वाचन आयोगले सहमति दिए पनि नियुक्ति हुन सकेन

752
Shares

काठमाडौँ ।

लोकसेवा आयोगले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षको सिफारिस गरेको करिब दुई साता पुगिसक्दा पनि नियुक्ति हुन सकेको छैन । आयोगले सबै प्रक्रिया पूरा गरी अध्यक्षको नाम सिफारिस गरेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको थियो ।
उच्च स्रोतका अनुसार मन्त्रालयले आचारसंहिता लागू भइसकेको अवस्थामा नियुक्ति गर्न नमिल्ने गरी बखेडा झिक्न खोजेको छ ।

यद्यपि, मन्त्रालयले आचारसंहिता लागू भइसकेको अवस्थामा अध्यक्षको सिफारिस गर्न मिल्ने कि नमिल्ने भन्दै निर्वाचन आयोगलाई पत्राचार गरेकोमा आयोगले लोकसेवाले गरेको सिफारिसअनुसार अध्यक्षको नाम सिफारिस गर्न मिल्नेगरी मन्त्रालयलाई सहमतिपत्र पठाइसकेको छ ।

स्रोतका अनुसार बोर्डका उपाध्यक्ष एवं शिक्षा सचिव चुडामणि पौडेल निर्वाचन आयोगले अध्यक्ष सिफारिस गर्न सहमति दिएको सम्बन्धमा प्रधानमन्त्रीसँग छलफल गर्ने तयारीमा हुनुहुन्छ । शिक्षा सचिव पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारीसमेत लिनुभएका प्रधानमन्त्री कार्कीले नियुक्ति गर्न निर्देशन दिएपछि मात्र मन्त्रालयले मन्त्रिपरिषद्को कार्यालयमा नाम सिफारिस गर्नेगरी तयारी अगाडि बढाउनुभएको बताइएको छ । राष्ट्रिय परीक्षा बोर्डको नाम मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने कानुनी प्रावधान छ ।

आयोगले छनौटमा परेका ७ जनाको अन्तर्वार्ता लिएर ३ जनाको नाम सिफारिस गरेको थियो । छनौटमा परेका ७ जनामा डा. कृष्णप्रसाद आचार्य, डा. जगत्कृष्ण पोखरेल, पुष्पराज जोशी, प्रा.डा. बाबुराम खनाल, डा. राजेन्द्रकुमार पोखरेल, डा. राजेन्द्रप्रसाद चापागाईं र डा. रामचन्द्र पाण्डे रहनुभएको थियो । आयोगले करिब १० दिनअघि छनौट भएकामध्ये ३ जनाको नाम लाहाछाप लगाएर मन्त्रालयमा बुझाएको थियो ।

बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिले सिफारिसमा परेकाहरूको अवधारणापत्र र व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणपछि अन्तर्वार्ता लिएको थियो ।

शिक्षा ऐन, २०२८ को दफा ४ क को उपदफा (३) बमोजिम गठित सिफारिस समितिद्वारा स्वीकृत ‘राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनौटसम्बन्धी कार्यविधि, २०८२’ को दफा ९ बमोजिम दफा ११ को (क) र (ख) कार्य अनुभव र शैक्षिक योग्यताबापतको अङ्क गणना गरी ७ (सात) जना उम्मेदवारको नाम उल्लेख गरेको थियो ।

आचारसंहिता लागू हुनुअगावै प्रक्रिया सुरु भएकोले नियुक्ति प्रक्रिया रोक्नुपर्ने अवस्था नभएको मन्त्रालयको अधिकारीको भनाइ छ । तर, लोकसेवा आयोगले पठाएको ३ जनाको नामको विषयमा केही असहमति भएकोले रोकिएको हुनसक्ने आशंका छ । कसको नाम परेको छ कसैलाई जानकारी छैन, तैपनि मन्त्रालयले सिफारिस भएर आएकाको खाम खोल्न मानेको छैन । सचिव पौडेलले यो विषयमा अध्ययन भइरहेको जानकारी दिनुभयो ।

कक्षा १० को परीक्षा चैत १९ देखि र कक्षा १२ को वैशाखको दोस्रो साताबाट सुरु हुँदैछ । परीक्षाको मुखैमा सिफारिस भएका अध्यक्ष नियुक्ति गर्न नखोज्नु मन्त्रालयको लापरबाही भएको स्रोतको भनाइ छ ।
बोर्डमा अध्यक्ष नियुक्ति गर्न नसक्दा लामो समयदेखि नीतिगत सबै काम रोकिएको छ । बोर्डमा पुस १२ बाट अध्यक्ष रिक्त भएको थियो ।

उता, खामबन्दी रहेको तीन जना उम्मेदवारको नाम बजारमा चर्चा चल्न थोलेको छ । नाम भए वा नभएको विषयमा जानकारी नै नभएको विषयमा कसैको आचरणमा समस्या पर्नेगरी समाचार आउन थालेका छन् । स्रोतका अनुसार सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयका पूर्व परीक्षा नियन्त्रक पुष्पराज जोशीको नाम परेको हल्ला चलाउँदै मानहानि गरिएको छ । जोशीलाई त्रिविको छानबिन समितिले कारबाही गर्न सिफारिस गरेको व्यक्तिाई अध्यक्ष नियुक्ति गर्न लागेको आरोप केहीले लगाएका छन् । तर, जोशीले आफूलाई त्यस विषयमा जानकारी नभएको बताउनुभयो ।

‘नाम सिफारिस भए वा नभएको बारेमा केही जानकारी छैन ? तैपनि केही व्यक्तिले मेरो अपमान हुनेगरी चरित्र हत्या गर्न खोजेका छन्’ –जोशीले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

त्रिविका निवर्तमान परीक्षा नियन्त्रक जोशी प्रशासनिक असफलता र योग्यता ढाँटेको गम्भीर आरोपका बाबजुद मुख्य दाबेदारका रूपमा अगाडि देखा परेको बताइएको छ । तर, लोक सेवा आयोगले नियमसंगत सिफारिस गरेको व्यक्तिलाई तत्काल रोक्नसक्ने अवस्था छैन ।