मतदाता शिक्षा कार्यक्रम फागुन ३ देखि


काठमाडौं ।

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनको लागि यही फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आयोगले मतदाता शिक्षा कार्यक्रममार्फत निर्वाचन प्रक्रिया, मताधिकारको महत्व तथा मतदान विधिबारे जानकारी गराउन मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत गरेर सञ्चालन गर्न लागेको हो । मतदाता शिक्षाका लागि घरदैलो जान देशभरका ६ हजार ७ सय ४३ वटै वडामा स्वयंसेवक खटिने छन् । त्यससँगै विद्यालयस्तरमा कार्यक्रम सञ्चालन गरिने छ । त्यस्तै, सामाजिक सञ्जाल, सञ्चारमाध्यमबाट मतदाता शिक्षा प्रचार गर्ने आयोगको तयारी रहेको छ ।

बाल विकास सहजकर्ता, मातृ शिशु कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका वा सामुदायिक सेवा केन्द्रका परिचालकमध्येबाटै स्वयंसेवक खटाउने आयोगको तयारी रहेको छ । त्यसका स्वयंसेवक नियुक्ति प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।
यस कार्यक्रमको मुख्य उद्देश्य भनेको मतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्ने रहेको बताउँदै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भन्नुभयो– ‘यसले मतदाताको सहभागिता वृद्धि गर्ने र बदर मतको संख्या घटाउन टेवा पु¥याउने छ ।’

आयोगको तथ्यांकअनुसार २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा कुल एक करोड १० लाख ४७ हजार ३४ मत खसेकोमा पाँच लाख ५९ हजार ८६ अर्थात् ५ दशमलव ०६ प्रतिशत बदर भएको थियो । त्यस्तै, समानुपातिकतर्फ एक करोड ११ लाख २६ हजार २ सय २६ मत खसेकोमा पाँच लाख ६६ हजार १ सय ४४ अर्थात् ५ दशमलव ०८ प्रतिशत बदर भएको थियो ।

यसअघि आयोगले मतदाता शिक्षासम्बन्धी कार्यक्रम स्वीकृत गरिसकेको छ । मतदाता शिक्षाले मतपत्र बदर नहुने गरी मतदान गर्न टेवा पु¥याउने आयोगको विश्वास रहेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा खसेको मतसमेत बदर भएकाले पनि मतदाता शिक्षा दिनुपर्ने आवश्यकता बढेको बताइएको छ ।

ठूलै धनराशि खर्च गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी नभएको भन्दै विगतमा आलोचना हुँदै आएको समेतलाई दृष्टिगत गरी आयोगले बदर मत प्रतिशत घटाउने लक्ष्य लिएको आयोगका प्रवक्ता भट्टराईको भनाइ रहेको छ ।