झापा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा प्राचीन नेपाली सभ्यता र वेदको मर्मबाट निर्देशित रहेको बताएका छन्। धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै उनले नेपाल पाँच हजार वर्ष पुरानो गौरवशाली इतिहास भएको देश भएको दाबी गरे।
अध्यक्ष ओलीले ‘सर्वे भवन्तु सुखिनः’ भन्ने वैदिक मन्त्रलाई नै आधुनिक युगको समृद्धिको आधार बनाइएको उल्लेख गर्दै सनातन परम्परालाई नेपालको मूल सभ्यता र पहिचानका रूपमा व्याख्या गरे। ‘हिन्दु राष्ट्र’ भन्ने शब्द पछिल्ला शताब्दीमा प्रयोगमा आएको बताउँदै उनले सनातन परम्परा सबै धर्म मान्ने नेपालीहरूको साझा सम्पत्ति भएको धारणा राखे।
उनले चिकित्सा विज्ञान, विशेषगरी शल्यक्रियाको सुरुआत नेपालकै भूमिबाट भएको उल्लेख गर्दै ऋषि विश्वामित्र र सुश्रुतको योगदानको चर्चा गरे। नेपाललाई ‘देवभूमि’, ‘तपोभूमि’ र ‘ज्ञानभूमि’ भन्दै हराउँदै गएको राष्ट्रिय गौरव पुनःस्थापना गर्ने संकल्प व्यक्त गरे।
कार्यक्रममा उम्मेदवारको हैसियतमा सहभागी भएका ओलीले निर्वाचन आचारसंहिताप्रति आफू सचेत रहेको र चुनाव प्रचारका लागि नभई देश बनाउने प्रतिबद्धता दोहोर्याउन आएको स्पष्ट पारे। आचारसंहिताका कारण चाहेर पनि पुराणमा दान गर्न नमिल्ने अवस्था रहेको उनले बताए।











प्रतिक्रिया