खाद्यान्नको भाउ एक्कासी ह्वात्तै बढ्यो


काठमाडौं ।

चुनावको मिति नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ । उपभोक्ताबाट चामल र खाने तेललगायतका दैनिक उपभोग्य वस्तुको मूल्य ह्वात्तै बढेको गुनासो आउन थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार मूल्य समायोजन गर्न उत्पादक तथा वितरकलाई निर्देशन दिँदै अनुगमनलाई कडाइ गरेको छ । विभागले खाद्यान्न तथा तेल उत्पादक, आयातकर्ता र वितरकलाई अनुचित नाफा नलिन र मूल्य समायोजन गर्न निर्देशनसमेत दिएको छ ।

विभागले खानेतेल, ग्यास, चामललगायत अत्यावश्यक वस्तुको मूल्यवृद्धि अस्वाभाविक देखिएको भन्दै उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ अनुसार बजार अनुगमन तीव्र बनाउने र कानुन उल्लंघन गर्ने फर्मलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ । साथै कानुन उल्लंघन गर्नेलाई दण्डित गर्ने चेतावनी दिएको छ ।

विभागले अवाञ्छित मूल्यवृद्धि नियन्त्रण गरी बजारलाई प्रतिस्पर्धी र बजार स्वच्छता कायम गर्न खाद्यान्न तथा तेल उत्पादन गर्ने प्रमुख उत्पादक, प्रमुख पैठारीकर्ता र वितरकहरूलाई बोलाई अनुचित नाफा नलिई वस्तु वा सेवा उपलब्ध गराउन तथा अस्वाभाविक मूल्यवृद्धिलाई समायोजन गरी उपभोक्तालाई राहत दिन निर्देशन दिएको छ । विभागले दैनिक रूपमा बजार अनुगमन गरी काठमाडौं उपत्यकाका विभिन्न खाद्य स्टोेरलाई नगद जरिवाना तथाचेतावनी दिएको छ ।

यता नेपाल खुद्रा व्यापार संघले एमआरपीमै वृद्धि भएर आएको जनाएको छ । संघका अनुसार ६१ वटा प्रमुख वस्तुहरूमध्ये ५० वटामा मूल्य बढेको छ, जसको औसत वृद्धि ६०.७६ रुपैयाँ र प्रतिशतमा ३४.६९ प्रतिशत रहेको छ । पछिल्लो १५ दिनमा कायम भएको मूल्यसूचीमा पोखरेली चामल प्रतिकिलो ७५ रुपैयाँबाट बढेर ९० रुपैयाँ पुगेको छ । स्टिम सोना चामल ५५ बाट ६० रुपैयाँ पुगेको छ भने लङग्रेन वासमती चामल १३० रुपैयाँमै स्थिर रहेको छ ।
चिउरातर्फ ताइचिन चिउरा १४० बाट घटेर १३० रुपैयाँमा झरेको भए पनि तराई ताइचिन चिउरा ६० रुपैयाँबाट बढेर ७० रुपैयाँ पुगेको छ ।

त्यस्तै दाल तथा गेडागुडीमा समेत उल्लेख्य वृद्धि देखिएको छ । मास १ सय रुपैयाँबाट दाल १७० रुपैयाँ, मुंग खोस्टा ठुलो १४० रुपैयाँबाट १७० रुपैयाँ, मुसुर दाल १०० रुपैयाँबाट १५० रुपैयाँँ, मुंग गेडा १४० रुपैयाँबाट १७० रुपैयाँ र मुंग छाटा १ नं. १४० रुपैयाँबाट २०० रुपैयाँ पुगेको छ । एनपी रहर दाल ११० रुपैयाँबाट १७० रुपैयाँ कायम भएको छ ।

खानेतेलतर्फ भुटेको तोरीको तेल २७० रुपैयाँबाट ३५० रुपैयाँ, काँचो तोरीको तेल १६० रुपैयाँबाट २४० रुपैयाँ, भटमास तेल ११५ रुपैयाँबाट २२० रुपैयाँ र सनफ्लावर तेल १४० रुपैयाँबाट २४० रुपैयाँ पुगेको छ ।

यसैगरी मसलातर्फ खोरसानी पाउडर ३०० रुपैयाँबाट ४५० रुपैयाँ पुगेको छ भने जिरा पाउडर ४५० रुपैयाँमै स्थिर रहेको छ । धनियाँ पाउडर २५० रुपैयाँ, बेसार पाउडर ३०० रुपैयाँ कायम भएको छ ।
चिनी प्रतिकिलो ९० रुपैयाँ पुगेको छ । सेतो भटमास ११० रुपैयाँबाट १३० रुपैयाँ, हरियो केराउ १४० रुपैयाँ, सानो केराउ १६० रुपैयाँ राजमा २०० रुपैयाँ पुगेको छ ।

कैलौ तिल ३५० रुपैयाँ र कालो तिल ४५० रुपैयाँ पुगेको छ भने सेतो तिल ३०० रुपैयाँ कायम छ । साथै कोदो ७५ रुपैयाँ, जौ ८० रुपैयाँ, मैदा ५० रुपैयाँ, सुजी ६० रुपैयाँ, मकै पिठो ५० रुपैयाँ र चामल पिठो मसिनो ६० रुपैयाँ पुगेको छ । बेसन १६० रुपैयाँ, मस्यौरा १५० रुपैयाँ, मेथी १८० रुपैयाँ र गहत १४० रुपैयाँ कायम भएको छ ।

त्यस्तै नेपाल वनस्पति घिउ–तेल उत्पादक संघले भने मूल्यवृद्धि उद्योगीले नभई अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण भएको जनाएको छ । संघका अनुसार नेपालमा प्रशोधित खाने तेल उद्योगका लागि आवश्यक कच्चापदार्थ पूर्ण रूपमा आयातमा निर्भर रहेको उल्लेख गर्दै अर्जेन्टिना, ब्राजिल, युक्रेन, इन्डोनेसिया र मलेसियाबाट कच्चा तेल आयात हुने भएकाले विश्व बजारको मूल्य परिवर्तनले नेपालमा प्रत्यक्ष असर पार्ने संघको भनाइ छ । हाल बायोडिजेलमा खानेतेलको प्रयोग बढ्नु, अमेरिकी सरकारले डिजेलमा यसको मिसावट प्रतिशत बढाउनु र अमेरिकी डलरको भाउ निरन्तर बढ्नुले लागत बढाएको संघले जनाएको छ ।

संघले कृत्रिम अभाव सिर्जना गरेको आरोप अस्वीकार गर्दै अन्तर्राष्ट्रिय बजारको मूल्यलाई मात्रै समायोजन गरिएको स्पष्ट पारेको छ । साथै, यो मूल्यवृद्धि निर्वाचनको मुखमा पर्न गएको संयोग भएको भन्दै विभागसँग समन्वय गरी सकेसम्म मूल्य समायोजन गर्ने प्रतिबद्धता जनाएको छ ।