–आम मतदातालाई दिग्भ्रमित पार्ने खेल
–‘नयाँ सबै राम्रा, पुराना सबै खराब’ भन्ने गलत भाष्य बनाउने दुष्प्रयास
–सामाजिक सञ्जालमा गलत प्रचारको बाढी, मतदातालाई सावधान रहन आग्रह
काठमाडौं ।
आगामी फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातिरहेको छ । गाउँ–सहरमा राजनीतिक बहस तीव्र बन्दै गएको छ भने सामाजिक सञ्जालमा चुनावी प्रचारको बाढी देखिएको छ । तर, यही प्रचारबीच एउटा खतरनाक भाष्य व्यवस्थित रूपमा फैलाउन खोजिएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ । ‘पुराना सबै खराब र नयाँ सबै राम्रा’ भन्ने गलत भाष्य फैलाउन खोजिएको भन्दै त्यसतर्फ सचेत रहन आम नागरिक अगुवा तथा अभियन्ताहरूले मतदाताहरूलाई सजग तुल्याउन थालेका छन् ।
विश्लेषकहरूका अनुसार यो सरल नाराजस्तो देखिए पनि लोकतन्त्रका लागि जोखिमपूर्ण सोच हो । यसले मतदातालाई विवेक प्रयोग गर्न नदिई भावनात्मक लहरमा बगाउने प्रयास भइरहेको र त्यसले नकारात्मक परिणाम ल्याउन सक्ने र मुलुक गृहयुद्धको चपेटामा पर्नसक्ने खतरा बढेको भन्दै चिन्ता व्यक्त हुन थालेको छ । राजनीतिक पर्यवेक्षकहरू भन्छन् – ‘लोकतन्त्रमा दल होइन, अन्ततः जनप्रतिनिधि निर्णायक हुन्छन् । तर, अहिले व्यक्ति मूल्याङ्कनभन्दा समूहगत ‘ब्रान्डिङ’ मार्फत मत माग्ने प्रवृत्ति बढेको देखिन्छ ।’
पछिल्लो समय केही समूहले नयाँ दलका उम्मेदवारलाई स्वतः ‘इमानदार’ र पुराना दलका सबैलाई ‘भ्रष्ट’ ठहर गर्ने अभियान चलाइरहेका छन् । समाजशास्त्रीहरूका अनुसार यो ‘देवत्वकरण र राक्षसीकरण’को मनोवैज्ञानिक रणनीति हो । यस्तो प्रवृत्तिले समाजमा ध्रुवीकरण बढाउने र मतदाताको स्वतन्त्र निर्णय क्षमतालाई कमजोर बनाउने खतरा रहेको उनीहरू बताउँछन् । उनीहरूले लोकतन्त्रमा नागरिकको विवेक हटाएर भावनात्मक नारा स्थापित गरियो भने त्यो चुनावमात्रै होइन, शासन पनि गलत दिशातर्फ जान सक्ने खतरा औंल्याएका छन् ।
चलचित्र क्षेत्रका महानायक राजेश हमालले नयाँ सबै राम्रा र पुराना सबै खराब भनेर एउटै डालोमा हालेर हेर्न नहुने बताउनुभयो । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै हमालले आगामी निर्वाचनमा आम नेपाली मतदाताहरूले कसैको लहैलहै र अनावश्यक प्रचारबाजीमा नलागी, कुनै दबाबमा नपरी आफ्नो विवेक पु¥याएर सबैभन्दा सक्षम र उपयुक्त व्यक्तिलाई भोट दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
यसै गरी उहाँले अहिले विभिन्न प्रविधिहरू प्रयोग गरेर मानिसहरूलाई दिग्भ्रमित पार्न खोजिएको भन्दै त्यस्ता सबैखाले भ्रमबाट बचेर, कुनै पनि ‘ह्विम’को पछि नगाली आफ्नो विवेक पु¥याएर मतदात गर्नसमेत आम मतदातालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘हामी सबैले आ आफ्नो बौद्धिकता प्रयोग गरेर भोट हालौं, कुनै पनि ह्विमको पछि दौडनुभन्दा सही र असल व्यक्ति छानेर आफ्नो शक्ति प्रयोग गरौं । ’
संविधानविद् तथा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले पनि निर्वाचनमा विवेक बन्धक राखेर कसैको लहै लहैमा लागेर भोट हाल्ने जस्तो ऐतिहासिक गल्ती नगर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले निर्वाचनमा नयाँ पुरानाभन्दा पनि सक्षम, योग्य, इमान्दार र आफ्नै गाउँठाउँ बुझेको व्यक्ति हेरेर भोट हाल्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले पनि हल्लाको भरमा आफ्नो मताधिकारलाई हचुवामा प्रयोग गर्न नहुने र त्यसले परिणाम गलत आउनसक्ने खतरा औंल्याउनुभयो । उहाँले नयाँ भन्दैमा ‘टुरिस्ट’ उम्मेदवारलाई कुनै हालतमा पनि भोट दिन नहुने तर्क गर्दै स्थानीय समस्या बुझेका उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
पछिल्ला दिनमा फेसबुक, टिकटक र अन्य माध्यममा फेक आइडीबाट विभिन्नखाले भ्रामक प्रचार गर्दै पुरानाहरू सबै भ्रष्ट, फटाहा र नयाँहरू सबै ‘दूधले धोएका’ जस्तो बनाउन खोजिएको छ । यसै गरी आफ्नो विचारसँग असहमति राख्नेहरूलाई गाली गलौज गर्ने र गलत किसिमले ट्रोल बनाउने र बारम्बार दोहो¥याएर झुटलाई सत्यजस्तो देखाउने कामहरूसमेत भइरहेका छन् । सञ्चार विज्ञहरू यसलाई ‘गोयबल्स शैलीको दोहो¥याइ प्रचार’ बताउँछन् ।
भावनात्मक लहरले जितेको प्रतिनिधि पछि जनअपेक्षा पूरा गर्न नसक्दा पंगु बनेको र मतदाताहरू पछुताउनु परेको विभिन्न कालखण्डमा देखिँदै आएको छ । विश्लेषकहरूका अनुसार भ्रम र प्रचारबाट जित्ने उम्मेदवार प्रायः जनताप्रति उत्तरदायी नहुने जोखिम बढी हुन्छ । यस्तो अवस्थामा विकास योजनाहरू अलपत्र पर्ने, स्थानीय समस्या बेवास्ता हुने, जनविश्वास कमजोर हुने जस्ता समस्या देखिने गरेका छन् ।
विश्लेषकहरूको सुझाव छ ः मतको मूल्य हौवा होइन भविष्य हो । मत भनेको समर्थन होइन, जिम्मेवारी सुम्पनु हो । त्यसैले पार्टी होइन व्यक्ति हेर्न, नारा होइन कामको इतिहास हेर्न र प्रचार होइन क्षमता हेर्नसमेत उनीहरूले सुझाएका छन् । २१ फागुनको चुनावमा मतदाताले विवेक प्रयोग नगरे भावनाको लहर क्षणिक जित भए पनि दीर्घकालीन पछुतो बन्न सक्ने चेतावनीसमेत उनीहरूले दिएका छन् ।
नयाँ सबै राम्रा र पुराना सबै खराब हुन्छन् भनेर एउटै डालोमा हालेर हेर्न कदापि हुँदैन । २१ फागुनको निर्वाचनमा आम नेपाली मतदाताहरूले कसैको लहैलहै र अनावश्यक प्रचारबाजीमा नलागी, कुनै दबाबमा नपरी आफ्नो विवेक पु¥याएर सबैभन्दा सक्षम र उपयुक्त व्यक्तिलाई भोट दिनुपर्छ । अहिले विभिन्न प्रविधिहरू प्रयोग गरेर मानिसहरूलाई दिग्भ्रमित पार्न खोजिएकाले त्यस्ता सबैखाले भ्रमबाट बचेर, कुनै पनि ‘ह्विम’को पछि नगाली आफ्नो विवेक पु¥याएर मतदान गरौं ।
राजेश हमाल
चलचित्र क्षेत्रका महानायक
निर्वाचनमा विवेक बन्धक राखेर कसैको लहै लहैमा लागेर भोट हाल्नेजस्तो ऐतिहासिक गल्ती कसैले गर्नुहुँदैन । निर्वाचनमा नयाँ पुरानाभन्दा पनि सक्षम, योग्य, इमान्दार र आफ्नै गाउँठाउँ बुझेको व्यक्ति हेरेर भोट हाल्नुपर्छ यसो गर्दा नै लोकतन्त्रप्रति न्याय गरेको ठहर्छ ।
भीमार्जुन आचार्य
संविधानविद् तथा वरिष्ठ अधिवक्ता
हल्लाको भरमा आफ्नो मताधिकारलाई हचुवामा प्रयोग गर्न कसैले पनि हुँदैन । त्यसले परिणाम गलत आउन सक्ने खतरा रहन्छ । नयाँ भन्दैमा ‘टुरिस्ट’ उम्मेदवारलाई कुनै हालतमा पनि भोट दिन हँुदैन । स्थानीय समस्या बुझेका उम्मेदवारलाई प्राथमिकता दिनुपर्छ । चुनाव भनेको भावना होइन, भविष्यको जिम्मेवारी रोज्ने प्रक्रिया हो ।
डा. सुरेन्द्र केसी
राजनीतिक विश्लेषक











प्रतिक्रिया