लोकतन्त्र सुदृढीकरणका लागि निष्पक्ष निर्वाचन अपरिहार्य : आयुक्त तुलाधर


काठमाडौँ ।

निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन प्रणाली पारदर्शी, निष्पक्ष र विश्वासनीय हुनु आवश्यक रहेको बताएकी छिन् । निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त राष्ट्रिय संस्थाका प्रतिनिधिसँगको छलफलमा उनले स्वच्छ र स्वतन्त्र निर्वाचनका लागि निष्पक्ष र जिम्मेवार पर्यवेक्षणको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरिन् ।

उनले निर्वाचन जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्ने माध्यम भएको भन्दै पर्यवेक्षकहरूले कानुन, नियम र आचारसंहिताको पूर्ण पालना गर्दै तटस्थ र तथ्यमा आधारित भूमिका निर्वाह गर्नुपर्ने बताइन् । साथै, कुनै पनि राजनीतिक प्रभाव वा दबाबमा नपरी व्यावसायिक आचरण कायम राख्न उनले आग्रह गरिन् ।