पञ्जाबको जालन्धरमा आम आदमी पार्टीका नेताको गोली हानी हत्या


काठमाडौँ

आम आदमी पार्टीका नेता लकी ओबेरोयको पञ्जाबको जालन्धरमा गोली हानी हत्या गरिएको छ। जालन्धरको मोडेल टाउनस्थित गुरुद्वारा श्री गुरु सिंह सभा बाहिर अज्ञात आक्रमणकारीहरूले उनीमाथि गोली प्रहार गरेका हुन्।

जालन्धर प्रहरीका अनुसार शुक्रबार बिहान ओबेरोय आफ्नो कारमा गुरुद्वारा पुगेका बेला दुई पाङ्ग्रे सवारीमा आएका आक्रमणकारीहरूले उनीमाथि गोली चलाएका थिए। गम्भीर घाइते भएका ओबेरोयलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए।

जालन्धर प्रहरीका एडीसीपी–२ हरिन्दर सिंह गिलले भने, “शुक्रबार बिहान दुई आक्रमणकारी स्कुटरमा आएर लकी ओबेरोय नामक युवकमाथि गोली प्रहार गरी फरार भए।”

प्रहरीले घटनास्थल आसपास जडान गरिएका सीसीटीभी क्यामेराहरूको फुटेज जाँच गरिरहेको र आक्रमणकारीको खोजी तीव्र पारिएको जनाएको छ।

घटनापछि पञ्जाबको कानून व्यवस्थामाथि प्रश्न उठ्दै आएको छ। विधानसभामा विपक्षी दलका नेता प्रताप सिंह बाजवाले सामाजिक सञ्जालमार्फत राज्यको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले सत्तारुढ दलकै नेताहरू सुरक्षित नभएको अवस्थामा आम नागरिकको सुरक्षामाथि प्रश्न उठ्ने बताएका छन्।

-बिबीसी