काठमाडौँ
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नैतिकता कायम राख्ने उद्देश्यले टिकटकले निर्वाचन आयोग नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । आयोग परिसरमा आयोजित कार्यक्रममा दुवै पक्षबीच उक्त समझदारीपत्र आदान–प्रदान गरिएको हो ।
यस सहकार्यअन्तर्गत टिकटकको प्रतिनिधिमण्डलले निर्वाचन नैतिकतासम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला सञ्चालन गरेको थियो । कार्यशालामा जिम्मेवार डिजिटल सहभागिता प्रवद्र्धन, भ्रामक सूचनासँग जुध्ने उपाय तथा सरोकारवालाबीच निर्वाचनको गरिमा सम्बन्धी बुझाइ सुदृढ गर्ने विषयमा छलफल गरिएको थियो ।
आसन्न आम निर्वाचनलाई मध्यनजर गर्दै आयोजित कार्यशालामा टिकटकले आफ्नो प्लेटफर्ममार्फत निर्वाचन प्रक्रियाको संरक्षण कसरी गरिन्छ भन्ने विषयमा आयोगका पदाधिकारीलाई जानकारी गराएको थियो । सो अवसरमा टिकटकका सामुदायिक निर्देशिका, भ्रामक सूचना, राजनीतिक सामग्री तथा भ्रामक व्यवहारसम्बन्धी नीतिहरूबारे प्रस्तुति दिइएको थियो । साथै, प्रयोगकर्तालाई विश्वसनीय सूचना प्राप्त गर्न, सम्भावित उल्लङ्घनबारे जानकारी गराउन र निर्वाचनसम्बन्धी सामग्री प्लेटफर्ममा कसरी व्यवस्थापन गरिन्छ भन्ने विषयमा टिकटकका विभिन्न उपकरण तथा सुविधाबारे पनि जानकारी दिइएको थियो ।
टिकटक दक्षिण एसियाका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिर्दौस मोत्तकिनले लोकतन्त्रका लागि निर्वाचन अत्यन्त महत्वपूर्ण क्षण भएको उल्लेख गर्दै सार्वजनिक संवादलाई आकार दिने प्लेटफर्मका रूपमा टिकटकले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक लिने बताउनुभयो । यस सहकार्यमार्फत सचेत सहभागिता प्रवद्र्धन गर्ने, निर्वाचनको निष्पक्षता सुदृढ गर्ने र सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित वातावरण उपलब्ध गराउने लक्ष्य रहेको उहाँको भनाइ थियो ।
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले डिजिटल प्लेटफर्मको जिम्मेवार प्रयोग र निर्वाचन नैतिकता प्रवद्र्धनका लागि टिकटकसँगको सहकार्यलाई आयोगले स्वागत गरेको बताउनुभयो । यस्ता सहकार्यले भ्रामक सूचनाबारे सचेतना अभिवृद्धि गर्न र निर्वाचन प्रक्रियामा जिम्मेवार सहभागितालाई टेवा पु¥याउने उनले बताउनुभयो ।
टिकटकले निर्वाचन नैतिकता सुदृढ गर्न तथा नेपाली समुदायका लागि विश्वसनीय सूचनाको वातावरण निर्माण गर्न आयोग तथा अन्य सरोकारवालासँग निरन्तर सहकार्य गर्ने जनाएको छ । विश्वव्यापी प्लेटफर्मका रूपमा प्रयोगकर्ताको विश्वास कायम राख्न, भ्रामक सूचनाको जोखिम कम गर्न र स्वस्थ प्रतिस्पर्धा प्रवद्र्धन गर्न निर्वाचनको नैतिकता सुनिश्चित गर्नु अत्यावश्यक रहेको टिकटकको धारणा छ ।
टिकटकको बारेमा
टिकटक छोटो अवधिका मोबाइल भिडियोका लागि अग्रणी प्लेटफर्म हो, जसको उद्देश्य सृजनात्मकतालाई प्रेरित गर्नु र मनोरञ्जन प्रदान गर्नु हो। टिकटकका कार्यालय लस एन्जलस, न्युयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिङ्गापुर, जकार्ता, जोहान्सबर्ग, सिओल र टोकियोलगायत विश्वका विभिन्न सहरमा रहेका छन् ।











प्रतिक्रिया