काठमाडौं।
नेपालको निजी क्षेत्रको पहिलो प्रसारण संस्था तथा दीर्घकालीन विश्वासको प्रतीक बनेको इमेज च्यानल संस्थागत विस्तारको नयाँ चरणमा प्रवेश गरेको छ। प्रतिष्ठित औद्योगिक समूह चौधरी ग्रुप (सीजी) अन्तर्गतको सीजी इन्टरटेनमेन्ट प्रालि औपचारिक रूपमा इमेज ग्रुप अफ कम्पनिजमा आबद्ध भएको हो।
यस सहकार्यसँगै इमेज ग्रुप अफ कम्पनिज एकीकृत तथा बहुआयामिक मिडिया कङ्ग्लोमरेटका रूपमा रूपान्तरण हुने दिशामा छ। २०८२ सालको प्रारम्भसँगै नयाँ व्यवस्थापन संरचना, कर्पोरेट गभर्नेन्स र दीर्घकालीन रणनीतिसहित अघि बढिरहेको इमेज समूह हाल प्रसारण, छापा, रेडियो र डिजिटल प्लेटफर्म समेट्ने मल्टी–प्लेटफर्म मिडिया नेटवर्कका रूपमा विस्तार हुँदै गएको छ।
प्रतिष्ठित सञ्चार उद्यमी रामकृष्ण मानन्धर नेतृत्वको इमेज ग्रुप अफ कम्पनिज र सञ्चार क्षेत्रमा पारिवारिक विरासत बोकेका सञ्चारकर्मी दिरेक लाल श्रेष्ठको कामना न्यूज पब्लिकेसन्स् प्रालिबीचको सहकार्यपछि हाल नयाँ व्यवस्थापनअन्तर्गत इमेज च्यानल एचडी, नेपाल समाचारपत्र (राष्ट्रिय दैनिक), न्यूज अफ नेपाल (अनलाइन), इमेज एफएम ९७ दशमलव ९, इमेज खबर (अनलाइन), इमेज न्यूज एफएम, कामना सिने मासिक तथा साधना हेल्थ म्यागेजिन सञ्चालनमा छन् ।
करिब तीन दशकदेखि सञ्चार, सिनेमा तथा मनोरञ्जन क्षेत्रमा सक्रिय सीजी इन्टरटेनमेन्ट प्रालि उद्योगी, सर्जक तथा कवि वसन्त चौधरीको नेतृत्वमा चलचित्र उत्पादन, वितरण, प्रदर्शनी, डिजिटल कन्टेन्ट तथा सांस्कृतिक प्रवद्र्धनमा स्थापित संस्था हो। सीजी इन्टरटेनमेन्टको सहभागितालाई इमेज समूहको विस्तार यात्राको रणनीतिक कोशेढुंगाका रूपमा लिएको श्रेष्ठले बताए ।
सीजी इन्टरटेनमेन्ट र कामना न्यूज पब्लिकेसन्स्को सहकार्यमा विगत डेढ दशकदेखि निरन्तर आयोजना हुँदै आएको ‘सीजी कामना फिल्म अवार्ड’ नेपाली चलचित्र उद्योगको सबैभन्दा प्रतिष्ठित र विश्वसनीय अवार्डमध्ये एकका रूपमा स्थापित छ। साथै, डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुँदै आएको सामाजिक संवादमूलक कार्यक्रम ‘मनका कुरा’ ले सार्वजनिक सरोकार र विचार नेतृत्वलाई प्रवद्र्धन गर्दै आएको छ।
सीजी इन्टरटेनमेन्टको प्रवेशसँगै इमेज ग्रुपले कन्टेन्ट उत्पादनदेखि वितरणसम्म आधुनिक प्रसारण प्रविधि, डिजिटल विस्तार र बजार पहुँचलाई थप सुदृढ बनाउने लक्ष्य लिएको कम्पनिजले जनाएको छ।
सीजी इन्टरटेनमेन्टको सहभागितासँगै इमेज ग्रुप अफ कम्पनिजले आफूलाई केवल सञ्चार संस्था मात्र नभई विश्वसनीय पत्रकारिता, सिर्जनशील मनोरञ्जन र डिजिटल नवप्रवर्तन समेटेको उदीयमान नेपाली मिडिया कङ्ग्लोमरेटका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।











प्रतिक्रिया