नेशनल लाइफद्वारा ३ दिने कर्मचारी सीप अभिवृद्धि तालिम सम्पन्न


काठमाडौँ
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीको प्राविधिक क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले “ट्रान्जिसनिङ टु द एज अफ आर्टिफिसियल इन्टेलिजेन्स” भन्ने नारासहित तीनदिने इम्प्लोयी स्किल एन्हान्समेन्ट प्रोग्राम पोखरामा सफलतापूर्वक सम्पन्न गरेको छ ।

होटल ग्राण्ड पोखरामा आयोजित उक्त कार्यक्रममा देशभरका शाखा तथा केन्द्रीय कार्यालयका प्रशासनिक कर्मचारीसहित २७० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन कम्पनीकी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । उद्घाटन मन्तव्यका क्रममा उहाँले बीमा व्यवसाय प्रविधिमैत्री बन्दै गएको सन्दर्भमा आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी तालिमले कम्पनीको व्यवसाय प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा कार्यसम्पादन मूल्याङ्कनका आधारमा बेस्ट इम्प्लोयी अवार्ड–२०८२ बाट उत्कृष्ट ठहरिएका सात जना कर्मचारीलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले दक्ष र प्रविधिमा सक्षम कर्मचारीबाट उत्कृष्ट नतिजा हासिल गर्न सकिने उल्लेख गर्दै एआई, डाटा विश्लेषण, ग्राहक सेवा प्रणाली तथा सम्पत्ति शुद्धिकरणसम्बन्धी तालिमको व्यवस्था गरिएको जानकारी दिनुभयो । कार्यक्रममा ब्रोडवे इन्फोसिसका सन्देश भट्टराईले आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी गहन प्रशिक्षण प्रदान गर्नुभएको थियो भने नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी वित्तीय लगानी रोकथामसम्बन्धी सचेतनामूलक प्रशिक्षण दिनुभयो ।

कार्यक्रममा कर्मचारीको मानसिक तथा शारीरिक स्वास्थ्य अभिवृद्धिका लागि योग प्रशिक्षण, विभिन्न मनोरञ्जनात्मक गतिविधि, ज्ञान परीक्षण तथा खेलकुद प्रतियोगितासमेत आयोजना गरिएको थियो । कार्यक्रमको समापनमा उप–कार्यकारी प्रमुख स्मृतिराज कँडेलले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता तालिम कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।