गाजामा इजरायली हवाई आक्रमण, ११ जनाको मृत्यु


काठमाडौं ।

गाजा पट्टीमा शनिबार इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार शरणार्थी शिविरमा आश्रय लिइरहेका नागरिकहरूलाई लक्षित गरी आक्रमण गरिएको थियो।

हमास प्राधिकरण अन्तर्गतको स्वास्थ्य मन्त्रालयका महाप्रबन्धक मुनीर अल–बर्शलाई उदृत गर्दै एएफपीले आक्रमणमा थप २० जना घाइते भएको जनाएको छ। घाइतेहरूलाई उत्तर गाजाको गाजा सहर र दक्षिणको खान युनिसस्थित अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ।

मन्त्रालयका अनुसार चिकित्सा आपूर्ति, औषधि र उपकरणको गम्भीर अभावका बीच इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घन जारी राखेको आरोप लगाइएको छ। जनवरीमा दोस्रो चरणमा प्रवेश गरेको युद्धविराममा हमासको निशस्त्रीकरण, क्रमिक इजरायली फिर्ती र अन्तर्राष्ट्रिय स्थिरीकरण बलको तैनाथी समावेश छ।

यद्यपि, इजरायल र हमासले एक–अर्कामाथि बारम्बार युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर १० देखि लागू युद्धविरामपछि हालसम्म ५०९ जनाको मृत्यु भइसकेको छ।