ट्रम्पले फेरि क्यानडालाई दिए धम्की, ५० प्रतिशत कर लगाउने चेतावनी


काठमाडौँ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई फेरि कडा चेतावनी दिएका छन्। सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत उनले क्यानडाले अमेरिकी विमान कम्पनी गल्फस्ट्रीमप्रति अन्यायपूर्ण व्यवहार गरिरहेको आरोप लगाएका हुन्।

ट्रम्पका अनुसार क्यानडाले गल्फस्ट्रीम ५००, ६००, ७०० र ८०० सिरिजका जेट विमानहरूलाई गलत र गैरकानूनी रूपमा प्रमाणिकरण गर्न अस्वीकार गर्दै आएको छ। ती विमानहरू हालसम्म निर्माण भएका सबैभन्दा परिष्कृत र प्रविधिगत रूपमा उन्नत विमानमध्ये पर्ने उनले उल्लेख गरेका छन्।

उनले क्यानडाले गल्फस्ट्रीम विमानको प्रमाणिकरण नदिएपछि अमेरिकाले क्यानडामा निर्मित बम्बार्डियर ग्लोबल एक्सप्रेससहित सबै क्यानेडियन विमानहरूको प्रमाणिकरण रद्द गर्ने चेतावनी दिएका छन्। गल्फस्ट्रीम पूर्ण रूपमा प्रमाणित नभएसम्म यो निर्णय कायम रहने पनि ट्रम्पले बताएका छन्।

ट्रम्पले क्यानडाले यही प्रमाणिकरण प्रक्रियामार्फत आफ्नै देशमा गल्फस्ट्रीम विमानको बिक्रीमा अप्रत्यक्ष प्रतिबन्ध लगाइरहेको आरोप समेत लगाएका छन्। यो काम धेरै वर्षअघि नै हुनुपर्ने भए पनि क्यानडाले अनावश्यक ढिलाइ गरिरहेको उनको भनाइ छ।

यदि यो अवस्था तत्काल सुधार नगरेमा क्यानडाबाट अमेरिकामा बिक्री हुने सबै प्रकारका विमानमा ५० प्रतिशत कर लगाइने ट्रम्पको चेतावनी छ।

-बीबीसीबाट