इपीएस पास युवाको माइतीघरमा प्रदर्शन


काठमाडौँ ।

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरे पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवा–युवतीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। कृषि तथा पानीजहाज क्षेत्रमा भाषा परीक्षा पास गरेर रोस्टरमा नाम रहे पनि वर्ष दिनभन्दा बढी समयसम्म जान नपाएको गुनासो गर्दै उनीहरूले मंगलबार माइतीघरमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले रोस्टरमा दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने व्यवस्था अन्यायपूर्ण भएको भन्दै म्याद दुई वर्ष थप गर्न माग गरेका छन्। उनीहरूले इपीएसको लुट धन्दा बन्द गर, रोस्टर अवधि थप गर, पास भएका युवालाई छिटो कोरिया पठाऊ जस्ता नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।