काठमाडौं ।
स्वच्छ ऊर्जा र न्यून कार्बनीकरणतर्फ केन्द्रित हुँदै नेपालमा पनि अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको सन्दर्भमा आज राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ऊर्जा क्षेत्रका विभिन्न साझेदार संस्थाको सहकार्यमा मंगलबार ‘स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास’ विषयक राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनले बहसलाई व्यवहारमा रूपान्तरण गर्ने लक्ष्य लिएको केन्द्रले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ तारिखलाई अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाइँदै आएको छ । पृथ्वी तथा मानवसहित सम्पूर्ण जीवजगतको हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रूपान्तरणका लागि विश्वव्यापी सचेतना फैलाउने उद्देश्यसहित यो दिवस मनाउने गरिएको हो ।
नेपालमा भने यो दिवस मनाउने मुख्य जिम्मेवारी केन्द्रले लिँदै आएको छ । यो सम्मेलन गत वर्ष सम्पन्न ‘उत्थानशील तथा न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रूपान्तरण सम्मेलन’को निरन्तरता हो ।
सम्मेलनबारे जानकारी दिँदै केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले अब बहस मात्र नभई न्यून कार्बनीकरणका कार्यक्रमहरूलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । साथै नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकलाई ऐनका रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा केन्द्रका निर्देशक डा. मुकेश घिमिरेले ऊर्जा क्षेत्रमा न्यून कार्बनीकरणको अवस्था र त्यसमा केन्द्रको भूमिकाबारे प्रकाश पार्नभएको थियो । केन्द्रका अनुसार हालसम्म करिब ३७ लाख घरधुरीमा नवीकरणीय ऊर्जाको पहुँच विस्तार गरिएको छ भने ऊर्जा क्षेत्रमा ४० हजारभन्दा बढी रोजगारी सिर्जना भएको छ । कार्बन व्यापारमार्फत केन्द्रले हालसम्म करिब ३६ मिलियन अमेरिकी डलर अर्थात करिब सवा ५ अर्ब रुपियाँ आम्दानी गरिसकेको जनाएको छ ।
यस वर्षको सम्मेलनले न्यून कार्बनीकरणको व्यवहारिक पक्षमा विशेष जोड दिँदै ‘बहसबाट व्यवहारमा जाने’ उद्देश्य लिएको केन्द्रले जनाएको छ ।
एकदिने सम्मेलनमा ‘स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास’ सम्बन्धी प्रस्तुतिका साथै स्वच्छ ऊर्जा तथा कार्बन बजारमार्फत न्यून कार्बनीकरण, ऊर्जा दक्षतामार्फत न्यून कार्बनीकरण तथा स्वच्छ ऊर्जा र विद्युतीय सवारीमा लगानी जस्ता विषयमा सरोकारवालाहरूसँग छलफल हुनेछ ।
सम्मेलनका प्रमुख उद्देश्य न्यून कार्बनीकरण प्राथमिकतामाथि छलफल, लगानी संयन्त्रको पहिचान, कार्बन बजारका अवसर खोजी, सरोकारवालाबीच समन्वय र साझेदारी सुदृढीकरण रहेका छन् ।











प्रतिक्रिया