काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई द्रुतमार्गको मंगलबार स्थलगत निरीक्षण गरेकी छन् । प्रधानमन्त्री कार्की मंगलबार बिहानै द्रुतमार्ग क्षेत्रको निरीक्षणमा निस्किएकी हुन् । निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीसँग परराष्ट्रमन्त्री बालनन्द शर्मा पनि सहभागी थिए । उनीहरूले आयोजनाको हालको अवस्था, कामको प्रगति, निर्माणको गुणस्तर तथा तोकिएको समयसीमाभित्र आयोजना सम्पन्न गर्ने विषयमा सम्बन्धित निकायका अधिकारीहरूसँग विस्तृत जानकारी लिएका छन् ।
प्रधानमन्त्री कार्कीले काठमाडौं–तराई द्रुतमार्ग मुलुकको आर्थिक विकासका लागि अत्यन्तै महत्वपूर्ण पूर्वाधार परियोजना भएको उल्लेख गर्दै कामलाई थप तीव्रता दिन निर्देशन दिएकी छन् । राजधानी काठमाडौंलाई तराई–मधेससँग छिटो, सुरक्षित र सहज रूपमा जोड्ने यो आयोजनाले देशको आर्थिक, व्यापारिक र पर्यटकीय गतिविधिमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । उनले निर्माण कार्यमा गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्न र तोकिएको समयसीमाभित्रै आयोजना सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।
साथै, आयोजनामा देखिएका प्राविधिक, प्रशासनिक तथा अन्य चुनौतीहरू समयमै समाधान गर्न सम्बन्धित निकायलाई आवश्यक समन्वय गर्न निर्देशन दिइएको छ । सरकारले काठमाडौं–तराई द्रुतमार्गलाई प्राथमिकतामा राखी आवश्यक बजेट, जनशक्ति र स्रोत–साधनको व्यवस्था गर्दै आएको जनाएको छ । आयोजनाको नियमित अनुगमन, प्रगति समीक्षा र आवश्यक सहजीकरणलाई निरन्तरता दिइने पनि सरकारको भनाइ छ ।
निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले आयोजना निर्माणमा देखिएका चुनौती, समस्या तथा समाधानका उपायबारे सरोकारवाला निकायसँग छलफल गर्दै राष्ट्रिय गौरवका आयोजनालाई सफल बनाउन सरकार दृढ रहेको सन्देश दिएकी छन् । आयोजना सम्पन्न भएपछि राजधानी र तराईबीचको यात्रा समय उल्लेखनीय रूपमा घट्ने र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया