ओखलढुंगामा फेरि वृद्ध दम्पतीको विभत्स हत्या, लुटपाटपछि दुवैको ज्यान गयो


ओखलढुंगा ।

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वृद्ध दम्पतीको लुटपाटपछि विभत्स हत्या भएको छ । भदौरेको बोहोरे टोलमा ८० वर्षीय चन्द्र विक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । वडाअध्यक्ष बलराम कटवालका अनुसार दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा लुटपाट गरी दुवैको हत्या गरिएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाले स्थानीयवासीलाई त्रसित बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगिसकेको र आफू पनि घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिएका छन् । घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको र वास्तविक कारण तथा संलग्न व्यक्तिबारे खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उल्लेखनीय छ, यसै गाउँपालिकाको भदौरे क्षेत्रमा एक महिनाअघि पनि ६० वर्षीय शोभितमान थापामगर र उनकी पत्नी रत्नमाया थापामगरको हत्या भएको थियो । उक्त घटनामा संलग्न आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । लगातार वृद्ध दम्पतीको हत्या हुनुले क्षेत्रको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । पछिल्लो घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।