काठमाडौं ।
निजी स्वास्थ्य संस्थाहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (एफिन) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूलाई स्वास्थ्य क्षेत्रलाई चुनावी घोषणापत्रमा प्राथमिकताका साथ समावेश गर्न आग्रह गरेको छ ।
एफिनका अध्यक्ष डा. पदमबहादुर खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा राजनीतिक दलहरूले मतदाता आकर्षणका कार्यक्रम त ल्याइरहे पनि स्वास्थ्यजस्तो आधारभूत र संवेदनशील क्षेत्रलाई पर्याप्त महत्व नदिएको उल्लेख गरिएको छ । ३५ वर्षअघिदेखि देशको आर्थिक अवस्था र साक्षरता दर बढे पनि नागरिकको स्वास्थ्य सेवा पहुँचमा अपेक्षित सुधार हुन नसकेको संगठनको ठहर छ । लोकप्रियतामुखी योजनामा मात्र केन्द्रित हुँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको विज्ञप्तिमा जनाइएको छ ।
एफिनले निर्वाचनमा स्वास्थ्य क्षेत्रमा ठोस, दीर्घकालीन र कार्यान्वयनयोग्य कार्यक्रम समावेश गर्न सबै दलहरूलाई आग्रह गरेको छ । देशभर ठूला लगानीमा सञ्चालनमा रहेका मेडिकल कलेज र अस्पताललाई सहभागी गराई स्वास्थ्य प्रणाली सुदृढ बनाउन सकिने संगठनको सुझाव छ ।
विज्ञप्तिमा निजी स्वास्थ्य संस्थाहरूले वार्षिक ३५ लाखभन्दा बढी नागरिकलाई सेवा दिँदै ठूलो राजस्व योगदान र रोजगारी सिर्जना गरिरहेको उल्लेख छ । यस्ता संस्थामाथि रहेका प्रशासनिक तथा कानुनी अवरोध हटाई नीतिगत सुधार गर्न र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत कार्यक्रम सञ्चालन गर्न एफिनले आग्रह गरेको छ ।
स्वदेशी तथा विदेशी लगानी आकर्षित गरी स्वास्थ्य क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्नुपर्नेमा जोड दिँदै एफिनले नागरिकको स्वास्थ्य सेवा पहुँच सुधार्ने स्पष्ट प्रतिबद्धता घोषणापत्रमै समेट्नुपर्ने जनाएको छ ।











प्रतिक्रिया