तीन पदाधिकारीको कार्यकक्षमा लगाएको ताला खोलियो


काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालयमा लगाइएको ताला सूचना जारी गरेको केही घण्टाभित्र प्रहरीले फोडेको छ । त्रिविका उपकुलपति प्राडा दीपक अर्याल, प्राडा रेक्टर खड्ग केसी र रजिस्टार प्रा. केदार रिजालको कार्यकक्षमा लगाएको ताला फोडेको हो । नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) ले गएको पुस १७ गते ताला लगाएको थियो ।

तालाबन्दीका कारण तीन पदाधिकारीको कार्यकक्ष र सो भवनमा रहेको कार्यालयको काम हुन सकेको थिएन । पटकपटक आग्रह गर्दासमेत ताला नखोलेपछि प्रहरीको सहयोगमा ताला खोलिएको हो । ताला खोल्नुअघि त्रिविका पदाधिकारीले कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीसँग परामर्श गरेका थिए ।

विद्यार्थी संगठनले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य तथा द्वन्द्व, शान्ति तथा विकास अध्ययन विषयमा लिइँदै आएको शुल्क तथा जन प्रशासन क्याम्पसको भर्ना प्रक्रियालाई लिएर ताला लगाइएको थियो ।

उपकुलपति प्राडा अर्यालले तालाबन्दीका कारण विश्वविद्यालयको नियमित प्रशासनिक कामकाज प्रभावित भएको थियो । सर्वोच्च अदालतबाट २०८२ असार १८ गते जारी भएको अन्तरिम आदेशको उलंघन भएको उल्लेख गर्दै त्रिवि प्रशासनले ताला फोडेको हो ।