झापा–३ मा लिङ्देनलाई चुनौती !आदिवासीको मत निर्णायक

1.13k
Shares

भद्रपुर ।

एमालेको भ¥याङ चढेर लगातार झापा–३ मा दुई कार्यकाल चुनाव जित्नुभएका राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन तीन दशकदेखि एकलौटी चुनाव लड्दै आइरहनुभएको छ । कांग्रेसका नेता कृष्ण सिटौलाको ‘आधार इलाका’ झापा–३ मा विपक्षी खेमाका राजेन्द्रकुमार घिमिरेले टिकट पाउनु र एमालेले १२ वर्षसम्म सूर्य चिह्नमा मत हाल्न नपाएको क्षेत्र यो पटक कुन पार्टीले मतदातालाई ढोक्सामा पार्ने भन्ने चर्चा चुलिएको छ ।

पछिल्ला दुईवटा चुनावमा झापा ३ र ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच तालमेल हुँदै आएको थियो । तर, यो पटक यी दुवै क्षेत्रमा एमाले र राप्रपाले आ–आफ्नो उम्मेदवार उठाएका छन् । कांग्रेस विशेष महाधिवेशन पक्षको पोल्टामा माहोल नगएको भए घिमिरेले यसपटक पनि टिकट पाउनुहुने थिएन । घिमिरे, सिटौला विपक्षी खेमाका कांग्रेस कार्यकर्ता हुनुहुन्छ ।

आगामी चुनावमा एमाले उम्मेदवारको जित निश्चित छ भन्नेहरूको खुसी यसरी अभिव्यक्त भइरहेको छ कि ‘हामीले योपटक १२ वर्षपछि सूर्य चिह्नमा भोट हाल्न पाउने भएका छौँ ।’ एमालेजनको यो उत्साहप्रति आममतदाता भने शङ्कालु बनेका छन् । किनकि यो क्षेत्रमा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत अन्य पनि कम देखिँदैनन् ।

झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरे, नेकपा (एमाले) बाट संविधानसभा सदस्य हरिबहादुर राजवंशी, रास्वपाका जिल्ला सभापति प्रकाश पाठक, नेपाली कम्युनिस्ट पार्टीका डिल्लीराम घिमिरे (हिक्मत), श्रमसंस्कृति पार्टीका दीपक तिम्सिनासहित १७ जना उम्मेदवार हुनुहुन्छ । जसमा अभय राजवंशी र मानप्रकाश सङ्ग्रौलाले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । आदिवासी बहुल बस्तीहरूले भरिएको झापा–३ मा जसले ती क्षेत्रका (आदिवासी) मतदातालाई विश्वस्त पार्न सक्छन् त्यही उम्मेदवारले जित हासिल गर्ने सम्भावना देखिएको छ ।

विगतमा ‘हेभी वेट’ उम्मेदवारका कारण यो क्षेत्र चर्चा र चासोको विषय बने पनि यो पटक कांग्रेसमा छक्कापञ्जा गर्ने नेता कृष्णप्रसाद सिटौलाको चाबी खोसिएको छ । विगतमा लिङ्देनलाई कडा टक्कर दिने सिटौला यसपटक चुनावी मैदानमा नदेखिएपछि लिङ्देन ‘ह्याट्रिक’ गर्ने ‘तानाबाना’ बुन्नमा व्यस्त हुनुहुन्छ । लगातार दुईपटक (२०७४ र २०७९ मा) सिटौलालाई चुनाव हराएर लिङ्देनले यो क्षेत्रलाई आफ्नो पकड बनाएकोमा ढुक्क हुनुहुन्छ ।

किनकि, लिङ्देनले ०७४ र ०७९ को चुनावमा सिटौलालाई एमालेको भ¥याङ चढेर पराजित गर्नुभएको थियो । सिटौला हराउन लगातार लिङ्देनलाई भोट दिएका एमाले कार्यकर्ता हरि राजवंशी उम्मेदवार बनेपछि यसपटक सूर्य चिह्नमा नै भोट हाल्न मतदाता आतुर देखिएका छन् । एमालेका उम्मेदवार राजवंशीले चुनाव जित्ने प्रमुख पाँच कारण भएको कोशी प्रदेश क्षेत्र नम्बर ३ का एमालेबाट निर्वाचित पूर्वसांसद वसन्तकुमार बानियाँले बताउनुभयो ।

क्षेत्र नम्बर–३ मा एमालेले ३० वर्षयता चुनाव नजितेको, १२ वर्षसम्म उम्मेदवार नपाएको, २७ वर्ष शिक्षण पेसामा रहेको, देशकै ठूलो सहारा साकोसको अध्यक्षलगायतका कारणले उम्मेदवार राजवंशीको जित निश्चित हुने उहाँको दाबी छ । यी कारणसँगै शालिन, बेदाग, आदिवासी उम्मेदवार भएकाले राजवंशीलाई जिताउन पार्टी पंक्तिबाट कुनै कसर बाँकी नराख्ने उहाँले जनाउनुभयो ।

टिकट वितरणका क्रममा पार्टी अध्यक्ष ओलीले झापा–३ लाई केही समय ‘होल्ड’ गरेकाले पनि यो आशंका उत्पन्न भएको हो । एमाले पार्टी इमान्दार भएर लागेको अवस्थामा झापा–३ मा हरिबहादुर राजवंशीले राप्रपा अध्यक्ष लिङ्देनलाई कडा टक्कर दिन सक्ने देखिएको छ ।

राप्रपालाई केही राहत
यसपटक कांग्रेसका सिटौला उम्मेदवार नबनेपछि राप्रपालाई केही राहत मिलेको छ । ०७९ को स्थानीय तहको चुनावमा कचनकवल गाउँपालिकामा राप्रपाविरुद्ध कांग्रेस–एमालेले गठबन्धन गरेका थिए । ०७४ मा अध्यक्ष र उपाध्यक्षसहित कचनकवलमा बहुमत ल्याएको राप्रपालाई ०७९ मा कांग्रेस–एमाले गठबन्धनले ‘शून्य’को अवस्था बनाएको थियो । त्यो बेलादेखि बिच्किएको राप्रपा एमालेको भोट राप्रपालाई नआउने राप्रपा नेतृत्वको विश्लेषण छ ।

कसको पल्ला भारी
२०७९ मा राप्रपाका लिङ्देन एमालेसँगको गठबन्धनबाट ४० हजार ६ सय ६२ मत प्राप्त गरी लगातार दोस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । एक्लै चुनाव लड्नुभएका कांग्रेसका सिटौलाले निकटतम प्रतिद्वन्द्वी रहँदै त्यतिबेला ३७ हजार ३ सय ८६ मत प्राप्त गर्नुभएको थियो । आगामी चुनावमा घिमिरे सिटौलाले प्राप्त गरेको ३७ हजार मत सुरक्षित गर्ने दाउमा हुनुहुन्छ । घिमिरेको जित–हार सिटौला पक्षको सहयोग–असहयोगमा निर्भर हुने बुझाइ छ ।

विपक्षीखेमा कोही नभएको कार्यकर्ता बन्धु कार्की बताउनुहुन्छ । सबै कांग्रेसहरू एकढिक्का भएर चुनावी अभियानमा जुटिरहेको भद्रपुर वडा नम्बर ५ का निर्वाचित वडाध्यक्षसमेत रहनुभएका कार्कीको भनाइ छ । कांग्रेसमा परेको भ्वाङ टाल्नुपर्ने महत्वपूर्ण रहेको हुँदा व्यक्तिभन्दा पनि कांग्रेसलाइ जिताउनुपर्ने उहाँको भनाइ छ ।