आचारसंहिता उल्लंघनविरुद्ध कठोर बन्दै निर्वाचन आयोग

पैसा बाँड्ने, सरकारी गाडी चढ्ने र घृणित अभिव्यक्ति दिने ८ जनालाई स्पष्टीकरण सोधियो

1.03k
Shares

काठमाडौं ।

निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी बढ्दै गएपछि निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारदेखि सार्वजनिक पदाधिकारी र संघ–संस्थासम्मलाई कारबाहीको चेतावनी दिँदै स्पष्टीकरण सोध्ने प्रक्रियालाई तीव्रता दिएको छ ।
निर्वाचन नजिकिँदै गएसँगै निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी परेपछि आयोगले कारबाही प्रक्रिया अघि बढाएको हो ।

पहिलोपटक आचारसंहिता उल्लंघन गर्नेहरूलाई तीन दिने समय दिएर आयोगले उम्मेदवार, पदाधिकारी र संघसंस्था गरी आठ जनालाई स्पष्टीकरण सोधेको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो । आयोगका अनुसार पैसा बाँडिएको, चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग, सरकारी सवारी साधनको दुरुपयोग र घृणित अभिव्यक्तिजस्ता घटनाहरूबारे आयोगमा उजुरी परेका छन् । ती घटनालाई आधार बनाउँदै आयोगले विभिन्न दलका नेतासहित ८ जनाविरुद्ध स्पष्टीकरण सोधेको थियो ।

आयोगले नेपाली कम्युनिस्ट पार्टीका जाजरकोटका उम्मेदवार शक्ति बस्नेतलाई पैसा बाँडेको भिडियोबारे स्पष्टीकरण सोधेको छ । बस्नेतले उम्मेदवारी दर्ता गर्दा बाजा बजाउने मानिसहरूको टाउकोमा पैसा सिउरिदिएको भिडियोका आधारमा तीन दिनको समय दिएर स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

धनकुटामा त्यहाँको मुख्य निर्वाचन अधिकृत कार्यालयले एमाले उम्मेदवार राजेन्द्रकुमार राईलाई सचेत गराएको छ । पूर्वमन्त्री समेत रहेका राईले आचारसंहिता विपरित पैसा बाँडेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।
त्यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई पनि आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । निर्वाचनमा बालबालिकाको प्रयोग गरेको विषयमा साम्पाङलाई स्पष्टीकरण सोध्न लागिएको हो ।

त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । झापा क्षेत्र नं ५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीको मनोनयन दर्ता गर्दा कार्की सरकारी गाडी चढेर सहभागी भएको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन प्रसार प्रसारमा सार्वजनिक पदाधिकारीहरूले सरकारी स्रोत साधनको प्रयोगमा रोक लगाइएको छ ।
त्यसै गरी राप्रपाबाट काठमाडौं क्षेत्र नं ४ बाट उम्मेदवार रहेका सुरेन्द्र भण्डारीलाई द्वेषपूर्ण अभिव्यक्ति दिएको आरोपमा स्पष्टीकरण सोधिएको छ । भण्डारीले यौनिक तथा अल्पसंख्यक समुदायविरूद्ध घृणित अभिव्यक्ति दिएको विषयमा स्पष्टीकरण सोधिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका दोलखाका उम्मेदवार जगदीश खरेललाई पनि आयोगले स्पष्टीकरण सोधेको थियो । खरेललाई दलको झण्डाको प्रयोग र मनोनयन दर्ता गर्दा २५ जनाभन्दा धेरै मानिस सहभागी गराएको विषयमा स्पष्टीकरण सोधेको थियो । खरेलले आगामी दिनमा आचारसंहिता पूर्ण पालना गर्ने उल्लेख गर्दै आफूले अन्जानमा आचारसंहिताविपरीत काम गरेको भनि जवाफ पनि पठाइसकेको छ ।

त्यसै गरी आयोगले अखिल नेपाल फुटबल संघ एन्फा र राष्ट्रिय खेलकुद परिषद्लाई पनि स्पष्टीकरण सोधेको छ । एन्फालाई निर्वाचनसँग सम्बन्धित विषयमा र राखेपलाई खेलकुदसम्बन्धी सम्मेलनको विषयमा स्पष्टीकरण सोधेको हो ।
दोस्रोपटक ती नै व्यक्ति र संघसंस्थाले आचारसंहिता उल्लंघन गरेमा २४ घण्टे स्पष्टीकरण र त्यसपछि पनि आचारसंहित पालना नगर्नेलाई कारबाही गर्ने आयोगको तयारी रहेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने व्यक्तिलाई जरिवानादेखि उम्मेदवारी खारेजसम्म गर्न सक्ने अधिकार आयोगलाई छ ।



बालेनविरुद्ध निर्वाचन आयोगमा उजुरी
ओली र गगनप्रति आक्षेपपूर्ण अभिव्यिक्ति दिएको आरोप


पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगन थापाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले दिएको अभिव्यक्तिविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

निर्वाचन आचारसंहिता, प्रचलित कानुन तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत भ्रामक, घृणात्मक र मानहानिकारक अभिव्यक्ति दिएको भन्दै धर्मराज तिमिल्सिनाले उजुरी दिनुभएको हो ।

उजुरीमा भनिएको छ– ‘बालेन साहले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक र तथ्यहीन आरोप हुन् । यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पु¥याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने तथा मतदाताको मानसिकता भ्रमित पार्ने खतरा रहेको छ ।’

नेपालको संविधान, निर्वाचन आचारसंहिता र प्रचलित कानुनले निर्वाचन अवधिमा भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति र अपुष्ट आरोप प्रयोग गरी मतदातालाई प्रभावित पार्न निषेध गरिएको भन्दै उहाँले उक्त अभिव्यक्तिको तथ्यपरक छानबिन गरी आचारसंहिताविपरीत ठहर भएमा आवश्यक कारबाही गर्न पनि माग गर्नुभएको छ ।

महोत्तरीलगायतका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी प्रचारका लागि भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको उल्लेख गर्दै यो विषय पनि निर्वाचन आचारसंहिताविपरीत भएको दाबी निवेदनमा गरिएको छ ।