सर्लाही।
सर्लाही जिल्लाको गोडैता नगरपालिकामा उखु खेतमा भएको भीषण आगलागीबाट ६५ जना किसान प्रत्यक्ष रूपमा पीडित भएका छन्। आगलागीबाट उद्योगलाई बिक्री गर्न तयारी अवस्थामा रहेको करिब २३ बिघा उखु जलेर नष्ट हुँदा पीडित किसानहरू क्षतिपूर्ति र राहतको पर्खाइमा छन्।
गत मंसिर २९ गते स्थानीय किसान मुन्ना चौधरीको उखु खेतबाट सुरु भएको आगो केही समयमै नियन्त्रण बाहिर गई वडा नं. २ र ४ का किसानहरूको उखु खेतमा फैलिएको थियो। आगलागीबाट वर्षभरिको मेहनत खरानी बनेपछि किसानहरूको जीविकोपार्जनमा गम्भीर असर परेको छ। घटना भएको यति लामो समय बितिसक्दा पनि आगलागीको वास्तविक कारण अझै पुष्टि हुन सकेको छैन। प्राविधिक टोली तथा सम्बन्धित निकायले ठोस निष्कर्ष निकाल्न नसकेको अवस्थामा किसानहरूले विद्युत सर्टका कारण आगलागी भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।
पीडित किसानहरूले प्रति कठ्ठा ४० क्विन्टल उखुको दरले क्षतिपूर्ति माग गरे पनि स्थानीय सरकारले औसत रूपमा प्रति कठ्ठा २५ क्विन्टलका दरले मात्र क्षतिको मूल्याङ्कन गरेको जनाएको छ। तर क्षतिपूर्तिको भुक्तानीबारे कुनै लिखित सम्झौता नहुँदा किसानहरू कहिले र कति रकम पाउने भन्ने विषयमा अन्योलमा छन्।
उखु किसानहरूले सरकार मौखिक आश्वासनमै सीमित भएको र व्यवहारिक सहयोग नपाएको गुनासो गरेका छन्। “नेताहरू निरीक्षण गर्न आए, फोटो खिचे र फर्किए, तर समस्या ज्यूँका त्यूँ छ,” पीडित किसान विमलेश ठाकुरले बताए। उखु किसान ठाकुरले आगलागीपछि नेताहरू खेतमा आएर फोटो खिचेर फर्किएको तर व्यवहारिक सहयोग नभएको गुनासो गरे। उनका अनुसार संघ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिले निरीक्षण गरे पनि ठोस निर्णय नहुँदा किसान निराश बनेका छन्।
तीनै तहका सरकारका प्रतिनिधि निरीक्षणका लागि आए पनि मौखिक आश्वासन बाहेक ठोस पहल नभएको उनले गुनासो गरे।
अर्का उखु किसान मुन्ना ठाकुरले आगलागीका कारण आफ्नो उखु बाली पूर्ण रूपमा नष्ट भएको भन्दै समयमै क्षतिपूर्ति नदिए आन्दोलन गर्ने चेतावनी दिए।
मल, खाद, बिउ तथा समयमै भुक्तानी नपाएर पहिल्यै समस्यामा परेका किसानलाई आगलागीले थप पीडा दिएको उनको भनाइ छ। माग सम्बोधन नभए किसान ऋणको भारी बोझमा डुब्ने अवस्था आउने उनले दुखेसो पोखे । स्थानीय रामजी महतोका अनुसार सरकारले क्षतिपूर्ति दिनुको साटो रिकभरीको आधारमा जलेको उखु उद्योगमा बिक्री गर्न बाध्य बनाएको छ। पीडित किसानलाई आवश्यक अनुदान र सहुलियत दिन सरकार पन्छिँदै आएको उनको आरोप छ।
उखु किसान महतोले कुनै पनि तहका सरकारले क्षतिपूर्ति र राहतका विषयमा लिखित सम्झौता नगरी मौखिक आश्वासन मात्र दिँदै आएको गुनासो गरे।

किसानहरूको भनाइ अनुसार आगलागीपछि उखुको तौल करिब २५ प्रतिशतले घटेको छ भने गुणस्तरमा पनि कमी आएको छ। जलेको उखुको रिकभरीको आधारमा मात्र उद्योगले खरिद गर्दा किसानलाई फाइदा नहुने उनीहरूको गुनासो छ। सबै जलेको उखुको एकैपटक ल्याब परीक्षण गरी मूल्य निर्धारण गर्न माग गरिए पनि उद्योगले अस्वीकार गर्दै आएको किसानहरूले बताएका छन्।
गोडैता नगरपालिका–६ बगदहस्थित श्री महालक्ष्मी चिनी उद्योगका उखु विभाग महाप्रबन्धक विश्वामित्र सिंहका अनुसार, एक दिनमा चार ट्रेलरसम्म जलेको उखु ल्याब परीक्षण गरी आएको रिकभरीका आधारमा मात्र उद्योगले खरिद गर्दै आएको छ। जलेको उखुको रस सामान्य उखुको रससँग बढी मिसिँदा राम्रो रससमेत बिग्रने र उद्योगलाई घाटा हुने उनले बताए।
सरकारले ९ रिकभरी आएको उखुको मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ तोके पनि जलेको उखुको रिकभरी ४.४ देखि ४.९ को आसपास आइरहेको उद्योगको भनाइ छ। उखु जलेको ४८ घण्टाभित्र उद्योगमा पु¥याएमा करिब ६ रिकभरी आउने विज्ञहरूको भनाइ रहे पनि महिनौँ बित्दा पनि अधिकांश किसानले उखु उद्योगसम्म पु¥याउन सकेका छैनन्। उद्योगले एक दिनमा चार ट्रेलरभन्दा बढी उखु लिन नमानेकाले पनि किसानलाई उखु बिक्री गर्न समस्या भइरहेको छ।
गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवका अनुसार प्रहरी प्रतिवेदनसहित स्थानीय सरकारले गरेको लागत मूल्यांकनमा ६५ जना किसानको २२ बिघा १८ कठ्ठा क्षेत्रफलमा प्रति कठ्ठा २५ क्विन्टलका दरले करिब ८८ लाख रुपैयाँ बराबरको क्षति भएको देखिएको छ। कृषि मन्त्रालयका निर्देशकसहितको टोलीले खेतको सर्वेक्षण तथा ल्याब परीक्षण गरी मन्त्रालयमा प्रतिवेदन पेश गरिसकेको उनले बताए।
प्रदेश सरकारले समेत आफ्नै तर्फबाट सर्वे गरेको र मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण कुमार यादवले आगलागी भएका खेतको निरिक्षण गरी किसानलाई क्षतिपूर्ति दिने आश्वासन दिएको नगरप्रमुख यादवले जानकारी दिए। तर लिखित सम्झौता नहुँदा किसानहरू कहिले र कति क्षतिपूर्ति पाउने भन्नेमा अन्यौलमा रहेको स्थानीय समाजसेवी युवा कृष्ण कुमार कुशवाहाले बताए।
प्रत्यक्षदर्शीका अनुसार मंसिर २९ गते रोहुवा गोठ नजिकबाट सुरु भएको आगो केही समयमै भीषण आगलागीमा परिणत भई तीव्र गतिमा अन्य खेततर्फ फैलिएको थियो। घटना भएको जानकारी पाएलगत्तै प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणले आगो निभाउने प्रयास गरे पनि नियन्त्रण हुन सकेन। करिब दुई घण्टापछि दमकल पुगे पनि सडक अभावका कारण उखु खेतभित्र पुग्न नसक्दा करिब २३ विघामा लगाइएको उखु जलेर नष्ट भएको थियो। ढिलो आएका दमकल छेउछाउका आगो निभाउनमै सीमित रहयो ।
पीडित किसानहरूले आगलागीबाट क्षति भएको उखुको क्षतिपूर्तिको माग गर्दै कृषि ज्ञान केन्द्र सर्लाही, मधेस प्रदेशका मुख्यमन्त्रीको कार्यालय, कृषि तथा पशुपन्छी कार्यालय, कृषि मन्त्री, गृह मन्त्री तथा प्रधानमन्त्रीको कार्यालयमा समेत हुलाकमार्फत ज्ञापनपत्र बुझाइसकेका छन्।











प्रतिक्रिया