माघ १८ र १९ गते नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको ८ औं अधिवेशन तथा १४ औं सभा


काठमाडौ।

नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको १४ औँ वार्षिक साधारण सभा तथा ८ औ अधिवेशन हुने भएको छ । समितिको बैठकले वार्षिक साधारण सभा तथा निर्वाचन २०८२ साल माघ १८ र १९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो । यो देशकै महत्त्वपूर्ण र ब्यवसायीक समिति  हो । जसमा ४२ सय वटा सवारी साधन आबद्ध छन् । यो नेपालको दोस्रो ठुलो समिति हो । 

सभामा देशभरबाट समितिमा आबद्ध ट्रिपर तथा ट्रक व्यवसायी सदस्यहरूको सहभागिता रहने छ । साधारण सभामा समितिका समग्र गतिविधि, आर्थिक पारदर्शिता तथा भावी कार्यदिशामाथि छलफल हुनेछ । २०८१-२०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा अनुमोदन, आर्थिक आय–व्यय विवरण लगायतका विषयमा छलफल हुनेछ । सभामा संघले भोग्दै आएका व्यावसायिक समस्या, चुनौती तथा समाधानका उपायहरूबारे छलफल हुनेछ । सरकारसँग समन्वय, नीति–नियम, कर प्रणाली, यातायात व्यवस्थापन तथा व्यवसायी हितका विषयहरूमा रणनीति तय तथा आगामी कार्यकालका लागि कार्ययोजना तथा कार्यक्रम अनुमोदन र नयाँ कार्य समिति निर्वाचित हुने समितिका उपाध्यक्ष राजु सत्यालले जानकारी दिए । 

वार्षिक साधारण सभासँगै संघको विधानअनुसार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन आयोजना हुनेछ । निर्वाचन मार्फत अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, सचिव, सह–सचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्ष तथा कार्यसमिति सदस्यहरू लोकतान्त्रिक प्रक्रियाबाट चयन गरिनेछ । समितिले सबै योग्य, सक्रिय तथा जिम्मेवार सदस्यहरूलाई निर्वाचन प्रक्रियामा सहभागी भई नेतृत्व चयनमा योगदान गर्न आग्रह गरेको छ ।

नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले सम्पूर्ण आजीवन, साधारण तथा सम्बद्ध सदस्यहरूलाई उक्त साधारण सभा तथा निर्वाचनमा अनिवार्य रूपमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अनुरोध गरेको छ । समितिले साधारण सभा तथा अधिवेशनलाई व्यवसायी एकता सुदृढ गर्ने, संस्थागत विकासलाई नयाँ उचाइमा पु¥याउने तथा ट्रिपर–ट्रक व्यवसायीहरूको हक–हित संरक्षणका लागि महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ । 

ह्वाइट दरबार पार्टी प्यालेस प्रा लि, चन्द्रागिरी ११, सतुंगल, काठमाण्डौ (शसस्त्र हस्पिटल जाने बाटोमा आयोजना गरिएको कार्यक्रम विहान ८ बजे देखि शुरु हुनेछ । प्रतिनिधि व्यवस्थापन तथा निर्वाचनसम्बन्धी थप जानकारी समितिले सामाजिक सञ्जाल तथा विभिन्न संचारमाध्यम मार्फत सार्वजनिक गर्ने बताइएको छ । करिब २ हजार भन्दा धेरै ब्यवसायीहरु सभामा प्रतिनिधिका रुपमा सहभागी हुनेछन् ।