कछुवा अवैध कारोबार गर्ने युवक पक्राउ, ६ वटा कछुवाको उद्धार


काठमाडौँ । 

अवैध रूपमा संरक्षित वन्यजन्तु जीवित कछुवाको ओसारपसार तथा खरिद–बिक्रीमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम तथा नियन्त्रणका लागि प्राप्त विशेष सूचनाका आधारमा आइतबार  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाजिम्पाट, काठमाडौंबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका वडा नं. ३ धोबिघाटबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला चितवन, भरतपुर महानगरपालिका वडा नं. १६ स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका वडा नं. ३ धोबिघाटमा बस्दै आएका १९ वर्षीय रोहिम तिवारी रहेका छन् ।

प्रहरीले तिवारीको साथबाट संरक्षित वन्यजन्तु जीवित कछुवा ६ वटा उद्धार (बरामद) गरेको जनाएको छ । पक्राउ परेका व्यक्ति र उद्धार गरिएका कछुवालाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी, ललितपुरमा बुझाइएको सीआईबीले जनाएको छ ।

वन्यजन्तु संरक्षण ऐन विपरीत हुने यस्ता गतिविधिविरुद्ध कडा निगरानी र कारबाही जारी रहने प्रहरीले जनाएको छ ।