काठमाडौं ।
सामाजिक सञ्जालमार्फत समाजमा हिंसा भड्काउने, घृणा फैलाउने तथा कानुन विपरीतका अभिव्यक्ति दिएको आरोपमा एक व्यक्तिमाथि अनुसन्धान सुरु गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो, भोटाहिटी काठमाडौँबाट जारी प्रेस विज्ञप्तिअनुसार लोक आवाज नामक युट्युब च्यानलबाट जिल्ला झापा, बिर्तामोड नगरपालिका वडा नं. ७ घर भएका लिलाधर नेपालको छोरा वर्ष ५० का भद्र प्रसाद नेपालले चुनावी प्रचारप्रसारको क्रममा सामाजिक सञ्जालमार्फत अर्का व्यक्ति पृथ्वी नारायण शाहको विरोध गर्दै ‘टाउको काटिन्छ, काट्नु पर्छ, म काट्न तयार हुन्छु’ जस्ता सार्वजनिक नैतिकता र शिष्टाचार विपरीतका अभिव्यक्ति दिएका थिए।
उक्त अभिव्यक्तिले समाजमा हिंसा भड्काउने संकेत देखिएकाले कानुन विपरीतको कार्य ठहर गर्दै साइबर ब्युरोले प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ । अनुसन्धानका क्रममा भद्र प्रसाद नेपाललाई उपस्थित गराई सोधपुछ गर्दा आफूबाट अभिव्यक्तिमा गलत अर्थ लाग्ने शब्द प्रयोग भएको स्वीकार गर्दै आगामी दिनमा कानुनको पालना गरी अभिव्यक्ति दिने प्रतिबद्धता जनाई लिखित कागज पेस गरेको ब्युरोले जनाएको छ ।
साथै, सामाजिक सञ्जाल लगायत अन्य डिजिटल प्लेटफर्ममार्फत कानुन विपरीतका अभिव्यक्ति दिने तथा श्रव्य–दृश्य सामग्री प्रसारण गर्ने गतिविधिमाथि निगरानी जारी रहेको र यस्ता कार्यमा संलग्न देखिए कानुन बमोजिम कारबाही हुने साइबर ब्युरोले चेतावनी दिएको छ ।











प्रतिक्रिया