अमेरिकामा शक्तिशाली हिउँदे आँधी, १३ हजारभन्दा बढी उडान रद्द

१२ राज्यमा आपत्काल लागू


एजेन्सी ।

अमेरिकामा आएको हिउँदे आँधीका कारण जनजीवन प्रभावित बनेको छ। आइतबारदेखि सक्रिय भएको आँधीले हवाई सेवा, सडक यातायात र विद्युत् आपूर्तिमा गम्भीर असर पारेको छ।

हजारौं उडान रद्द हुँदा यात्रुहरू अलपत्र परेका छन् भने सडकमा जमेको बरफका कारण सवारी आवागमन अवरुद्ध भएको समाचार संस्था एपीले जनाएको छ। मौसमविद् एलिसन सान्तोरेलीका अनुसार हिउँ र बरफ पग्लिन समय लाग्ने भएकाले उद्धार तथा राहत कार्यमा कठिनाइ हुन सक्ने देखिएको छ।

आँधीको प्रभाव बढेसँगै १२ वटा राज्यमा आपत्काल घोषणा गरिएको छ। सङ्घीय आपत्कालीन व्यवस्थापन एजेन्सी (FEMA) ले प्रभावित राज्यहरूमा आपत्कालीन सामग्री, कर्मचारी तथा खोज–उद्धार टोली तयारी अवस्थामा राखेको जनाएको छ। हालसम्म करिब १ लाख ४० हजारभन्दा बढी घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको छ।

आइतबार र सोमबार गरी अमेरिकाभर १३ हजारभन्दा बढी उडान रद्द भएका छन्। डलास–फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलमै मात्र ७ सयभन्दा बढी उडान स्थगित गरिएको छ। न्यासभिल, लुइसियाना, डलास, ह्युस्टन, फिलाडेल्फिया र मेम्फिसलगायतका सहरमा विद्यालयहरू बन्द गरिएको एपीले जनाएको छ।