लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगाको खेलमा किलियन एमबाप्पेको सानदार प्रदर्शनको मद्दतले रियल मेड्रिडले भिल्लारियललाई उसैको मैदान ‘एस्टाडियो दे ला सेरामिका’ मा २–० गोलअन्तरले पराजित गरेको छ ।
खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक रहे पनि २०औँ मिनेटमा युवा स्टार आर्दा गुलरले गोल गर्ने सुवर्ण अवसर गुमाएका थिए, जसको प्रहार सिधै भिल्लारियलका गोलरक्षक लुइज जुनियरको हातमा पुगेको थियो । दोस्रो हाफको सुरुवातमै रियलले आक्रामक रणनीति अपनायो । खेलको ४७औँ मिनेटमा भिनिसियस जुनियरको उत्कृष्ट मुभपछि प्राप्त रिबाउन्ड बललाई सदुपयोग गर्दै किलियन एमबाप्पेले टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछिको समयमा दुवै टोलीले केही सुन्दर अवसरहरू सिर्जना गरे पनि गोल हुन सकेन । खेलको अन्तिम समयमा एमबाप्पेमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएपछि रियलले पेनाल्टीको अवसर पायो । इन्जुरी समयको चौथो मिनेटमा एमबाप्पेले पेनाल्टीलाई गोलमा परिणत गर्दै व्यक्तिगत दोस्रो गोल पूरा गरे र टोलीको जित सुनिश्चित गरे ।











प्रतिक्रिया