१ हजार रन बनाउने ३ नेपाली खेलाडी

0
Shares

हालै महिला टी २० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने सूचीमा तीन नेपाली खेलाडी अटाएका छन् । टी २० अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका इन्दु बर्मा, रुवीना क्षेत्री र सीता रानामगर १ हजार रन पूरा गर्ने नेपाली खेलाडीहरू हुन् ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु सबैभन्दा पहिला टी २० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने खेलाडी बनेकी हुन् । उनले चार महिनाअघि मलेसियाविरुद्धका टी २० अन्तर्राष्ट्रिय सिरिजमा यो उपलब्धि हासिल गरेकी थिइन् ।
उनी टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली महिला क्रिकेटर समेत हुन् । उनले १ हजार ७५ रन बनाएकी छन् । ८१ टी २० अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएकी उनको यस फरम्याटमा उच्चतम रन ५५ हो ।

महिला टोलीकी पूर्व कप्तान रुवीना र अनुभवी खेलाडी सीताले भने हाल नेपालमा भइरहेको महिला टी २० विश्वकप ग्लोबल छनोटमा यो उपलब्धि हासिल गरेका हुन् । रुवीनाले नेदरल्यान्ड्सविरुद्ध १ हजार रन पूरा गरिन् भने यसपछिको खेलमा जिम्बावेविरुद्ध सीताले १ हजार रन पूरा गरेकी हुन् ।

८२ खेलमा सहभागिता जनाएकी रुवीनाले ७२ इनिङमा १ हजार ७ रन बनाएकी छन् । यस्तै, सीताले ६६ खेलमा सहभागिता जनाउँदैं १ हजार ३ रन जोडेकी छन् । उनी कम खेलमा (६२ इनिङ खेलेर) १ हजार रन पूरा गर्ने नेपाली खेलाडी बनेकी छन् ।

पूजाले पछ्याउँदैं

नेपालमै जारी आईसीसी महिला टी २० विश्वकपको ग्लोबल छनोटअन्तर्गत् ऐतिहासिक जित दिलाएकी पूजा महतो पनि १ हजार रनतिर अग्रसर छिन् । जिम्बावेविरुद्ध ५२ रनको नटआउट इनिङ खेल्दा उनले नेपाललाई टेस्ट खेल्ने टोलीविरुद्ध जित दिलाइन् । उनले ३८ इनिङ खेल्दा ६ सय ११ रन बनाएकी छन् । साथै, उनी टेस्ट खेल्ने टोलीविरुद्ध हाफ सेन्चुरी प्रहार गर्ने पहिलो नेपाली खेलाडी समेत बनेकी छन् । उनले छोटो समयमै ५ सय रन पार गरेकी हुन् ।