टेस्लाको विरासत र सर्बियाको रोचक संसार

0
Shares

युरोपको दक्षिण–पूर्वी बाल्कन क्षेत्रमा अवस्थित सर्बिया एक यस्तो देश हो, जसले आफ्नो गर्भमा हजारौँ वर्षको गौरवशाली इतिहास र आधुनिक विज्ञानको जग बोकेको छ । चारैतिर जमिनले घेरिएको यो भूपरिवेष्ठित राष्ट्रको सिमाना हंगेरी, रोमानिया, बुल्गेरिया, उत्तर म्यासेडोनिया, कोसोभो, मोन्टेनेग्रो, बोस्निया एण्ड हर्जगोभिना र क्रोएसिया गरी आठवटा देशसँग जोडिएको छ । पछिल्लो समय वैदेशिक रोजगारीको सिलसिलामा नेपाली युवाहरूको आकर्षणको केन्द्र बन्दै गएको यो देश केवल काम गर्ने गन्तव्य मात्र नभई ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले पनि उत्तिकै समृद्ध छ । सर्बियाको राजधानी बेलग्रेडलाई युरोपकै सबैभन्दा पुराना सहरहरूमध्ये एक मानिन्छ । हजारौं वर्ष पुरानो इतिहास बोकेको यो सहरले मानव सभ्यताको धेरै आरोह–अवरोह देखेको छ । रोचक कुरा त के छ भने, रणनीतिक महत्वको स्थानमा रहेका कारण बेलग्रेडको नाम इतिहासमा ४० पटकभन्दा बढी परिवर्तन गरिएको छ ।

सर्बियाको नाम लिनेबित्तिकै विश्वले आधुनिक विद्युतीय युगका नायक निकोला टेस्लालाई सम्झिन्छ । सर्बियन मूलका टेस्लाले नै ‘अल्टरनेटिङ करेन्ट’ (एसी) प्रणालीको विकास गरेका थिए । जसको जगमा आजको आधुनिक विश्व झलमल्ल छ । उनले परिकल्पना गरेको प्रविधिबिना आज टाढा–टाढासम्म बिजुली पु¥याउन असम्भव जस्तै हुन्थ्यो । विज्ञानमा मात्र नभई वातावरणीय तथ्याङ्क व्यवस्थापनमा पनि सर्बिया निकै अगाडि छ । राजधानी बेलग्रेडमा सन् १८८७ जुनदेखि नै मौसमको रेकर्ड राख्न सुरु गरिएको थियो, जुन विश्वकै सबैभन्दा पुरानो र निरन्तर राखिएको मौसम अभिलेखमध्ये एक हो । यो तथ्याङ्कले विश्वको जलवायु परिवर्तन बुझ्न वैज्ञानिकहरूलाई ठूलो मद्दत पु¥याउँदै आएको छ ।

ऐतिहासिक रूपमा सर्बिया अत्यन्तै संघर्षशील राष्ट्र हो । यो भूमि ४० भन्दा बढी ठूला युद्धहरूको साक्षी बनेको छ, जसले गर्दा यहाँका मानिसहरूमा साहसी र जुझारु स्वभाव विकास भएको देखिन्छ । झन्डै ७० लाख जनसंख्या भएको यो मुलुक अहिले मध्यम आय भएको देशका रूपमा चिनिन्छ । आर्थिक दृष्टिकोणले हेर्दा सर्बियाले राम्रो प्रगति गरेको छ । यहाँको प्रतिव्यक्ति आय १३ हजार डलरभन्दा बढी छ, जुन नेपालको प्रतिव्यक्ति आय (करिब १३–१४ सय डलर) को तुलनामा १० गुणाले बढी हो । यसले सर्बियाको बलियो आर्थिक अवस्था र त्यहाँ उपलब्ध अवसरहरूलाई प्रष्ट पार्छ ।

यति मात्र होइन, सर्बियाको पासपोर्ट पनि विश्वस्तरमा निकै शक्तिशाली मानिन्छ, जुन विश्वको ३५औँ सूचीमा पर्दछ । कृषि क्षेत्रमा पनि यो देशको आफ्नै विशिष्टता छ, विशेषगरी ‘किमु’ (रास्पबेरी) फलको उत्पादनमा सर्बिया विश्वकै अग्रणी देशहरूमध्ये एक हो । प्राकृतिक सुन्दरता, ऐतिहासिक गहिराई र आर्थिक स्थिरताका कारण सर्बिया आज विश्व मानचित्रमा एक महत्वपूर्ण राष्ट्रको रूपमा उभिएको छ । आफ्नो गौरवशाली विगतलाई जोगाउँदै आधुनिकता तर्फ लम्किरहेको यो बाल्कन राष्ट्र नेपालीहरूका लागि पनि बिस्तारै परिचयको नयाँ र भरपर्दो क्षेत्र बन्दै गइरहेको छ ।