काठमाडौँ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) बिगार्ने र संस्थामा विग्रह ल्याउने को हो भनेर कसैले सोध्यो भने एनआरएनएलाई सामान्य रूपमा बुझ्ने जो–कोहीले लिने एक नाम हो— हेमराज शर्मा । एनआरएनए स्थापनापछि लामो समय निष्क्रिय रहेका उनलाई नवौँ महाधिवेशनमा एनआरएनएका केही स्वार्थी र प्रभावशाली समूहले एकाएक खडा गरेर महासचिव बनाएका थिए ।
कुमार पन्त नेतृत्वको एनआरएनएको महासचिव बनेका शर्मालाई त्यतिबेला एनआरएनएको ‘प्लान सेटर’का रूपमा प्रचार गरिए पनि पछिल्लो समय उनको परिचय एनआरएनएको विभाजनकर्ता जस्तै बनेको छ ।
एनआरएनएमा विभाजन ल्याउने, वैमनस्यता सिर्जना गर्ने र आफूले भनेकै कुरा लागू गराउन रोइकराई गर्ने उनको शैलीले संस्थामा गहिरो विभाजन ल्यायो भने विश्वसनीयता इतिहासकै कमजोर अवस्थामा पुगेको अभियन्ताहरू बताउँछन् । ल्यापटपमा बसेर संसारै बुझेजसरी हतारहतार आफूअनुकूल टिप्पणी गर्ने र फरक धारणा राख्नेलाई संस्थाबाटै खेद्ने उनको शैलीकै कारण १०औँ महाधिवेशनमा एनआरएनए दुई भागमा विभाजित भयो ।
११औँ महाधिवेशनमा पनि उनले बद्री केसीलाई उकास्दा आरके शर्मा र महेश श्रेष्ठजस्ता नेताहरू अलग बाटो लागेका थिए । यतिमात्र होइन, अदालतमा मुद्दा चलिरहेका बेला अदालतकै अवहेलना हुने गतिविधिमा उनी उभिएको आरोप पनि छ । यसै कारण उनीसहित केही एनआरएनए पदाधिकारीविरुद्ध अदालतमा अवहेलना मुद्दा अहिले पनि विचाराधीन छ ।
एनआरएनएमा आफ्नो कुरा मात्रै सही ठान्ने र अरूको कुरा सुन्नै नचाहने शर्माले बद्री केसीलाई आफ्नो प्रभावको घेराभित्र राख्न सफल भएको एनआरएनए वृत्तको बुझाइ छ । यसमा उनका भाइ चिरन शर्माको भूमिका समेत रहेको बताइन्छ । चिरनले बद्री केसीलाई धम्की दिने र दाइको पक्षमा उभिन दबाब दिने गरेको चर्चा छ ।
चिरन शर्मा स्वयं एनआरएनएमा कहिलेकाहीँ मनोनीत बाहेक कुनै हैसियत नराख्ने व्यक्ति भए पनि आफूलाई संस्थाको निर्णायक पात्रजस्तै प्रस्तुत गर्दै नेपालका केही मिडियालाई समेत प्रभावित पार्ने प्रयास गर्ने गरेको आरोप लाग्दै आएको छ । उनी नागरिक दैनिकको संवाददाता भन्दै आफूअनुकूल समाचार लेखाउने र सोही माध्यम तथा आफ्नै एक अनलाइन प्रयोग गरेर बद्री केसीलाई तर्साउँदै दाइको पक्षमा माहोल बनाउन लागिपरेको बताइन्छ ।
यतिसम्म कि चिरनले बेलायतका केही पत्रकारलाई समेत आफूअनुकूल नलाग्दा परिचालित पात्र प्रयोग गरेर बदनाम गर्ने प्रयास गरेको विषय एनआरएनए वृत्तमा सार्वजनिक भइसकेको छ ।
हेमराजको एनआरएनएप्रतिको लगानी अवसरवादी रहेको अभियन्ताहरू बताउँछन् । फाइदा हुने काममा आफू नै एनआरएनए भएको जस्तो गर्ने तर खर्च गर्नुपर्ने बेला ‘म प्रोफेसर हुँ’ भन्दै अरूलाई टिकट काट्न लगाउने प्रवृत्ति रहेको एक अभियन्ताको भनाइ छ । एनआरएनएको नेतृत्व काठमाडौँ केन्द्रित हुँदा उनी भने बेलायतको लिभरपुल विश्वविद्यालयतिरै सीमित देखिन्छन् ।
तर संस्था विभाजित अवस्थामा हुँदा विपक्षीलाई गाली गर्न र बद्री केसीलाई विभिन्न कारणले दबाबमा राख्न सफल भएकाले उनी आफूलाई अध्यक्षको दाबेदारका रूपमा उभ्याउन थालेका छन् । सोहीअनुसार उनले आफ्नो उपस्थितिलाई सार्वजनिक रूपमा प्रस्तुत गरिसकेका छन् ।
रोचक के छ भने उनी अध्यक्षको उम्मेदवार बने एनआरएनए नै चल्न नसक्ने भन्दै यसअघि बद्री केसी समूहमा रहेका नेताहरू नै असन्तुष्ट बनेका छन् । बद्री केसी समूहमा ठूलो संख्यामा एमाले समर्थक रहेका छन् । तर एमालेको ठूलो समूह अहिले जापानका रोबिन शेरचन अध्यक्ष भए संस्थाको समग्र हित हुने निष्कर्षमा पुगेको र त्यसअनुसार रणनीति बनाउन थालेको स्रोतको दाबी छ ।
तर एमाले पंक्ति नै हेमराजको विपक्षमा हुँदा पनि बद्री केसीको हेमराज मोह भने कायमै रहेको देखिन्छ । अध्यक्षले सबैलाई मिलाएर लैजानुपर्नेमा केसीले हेमराजलाई बोकेर हिँडिरहेको आरोप छ । केही समयअघि काठमाडौँमा हेमराजलाई उतारेर बद्रीले छलफलहरू चलाएको बताइन्छ । तर ती छलफलमा सहभागी अधिकांशले हेमराजप्रति विश्वास नगरेको स्रोतको भनाइ छ ।
लैनचौरमा हालै खुलेको एक चिया पसलदेखि तारे होटलसम्म हेमराज र बद्री गोप्य मन्त्रणामा रहेको देखिएको भन्दै प्रत्यक्षदर्शीहरूले बताएका छन् । काठमाडौँमा सक्रिय भेटघाट गरिरहेका हेमराजले भने आफू बिरामी भएको भन्दै फेसबुकमा लेख्दै आएका छन् ।
मार्चमा हुने एनआरएनएको १२औँ महाधिवेशनका लागि बद्रीले हेमराज बोके पनि यो सम्बन्ध लामो समय टिक्ने अवस्था नदेखिएको अभियन्ताहरूको भनाइ छ । एकातिर हेमराज अध्यक्षका लागि उपयुक्त पात्र नभएको र अर्कोतिर बद्रीले यही अडान कायम राखे बद्री स्वयं एक्लिने खतरा रहेको बताइन्छ ।
हाल स्टेरिङ कमिटीमा रहेका अधिकांश सदस्य हेमराजलाई अध्यक्ष बनाउने पक्षमा नरहेको स्रोत बताउँछ । आरके शर्मा, बिनोद कुँवर र गंगाधर गौतमलगायतसँग त हेमराजको पानी बाराबारको स्थिति रहेको छ । यस्तो अवस्थामा रोबिन शेरचन सबैको साझा रोजाइ बन्न सक्ने अभियन्ताहरूको निष्कर्ष छ ।
रोचक कुरा त के छ भने हेमराजले विगतमा आफ्नो आलोचना गर्ने चर्चित अभियन्तालाई नै सामाजिक सञ्जालमा ब्लक गर्ने गरेको चर्चा एनआरएनए वृत्तमा हुने गर्छ ।











प्रतिक्रिया