काठमाडौं।
नेपाललाई विश्वस्तरीय खेलकुद केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यका साथ ‘नेपाल स्पोट्र्स समिट २०२६’ (एनएसएस २०२६) आयोजना हुने भएको छ ।
नेपाल स्पोट्र्स समिट कमिटीले आइतबार काठमाडौँमा आगामी फागुन ५ गते उक्त ऐतिहासिक राष्ट्रिय मञ्चको आयोजना हुने आधिकारिक घोषणा गरेको हो । यो समिट नेपालकै पहिलो संरचित राष्ट्रिय खेल सम्मेलन मञ्च हुनेछ, जसले उच्चस्तरीय कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय प्रतिनिधि, कर्पोरेट नेतृत्व, सरकारी अधिकारी र खेल प्रशासकहरूलाई एउटै छानामुनि एकत्रित गर्ने लक्ष्य राखेको छ ।
समिटमा नेपालको खेलकुद क्षेत्रका नीतिगत पक्ष, पूर्वाधार, सञ्चार, डिजिटल सामग्री तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयहरू समेटेर पाँचवटा उच्चस्तरीय प्यानल छलफलहरू सञ्चालन गरिने आयोजकले जनाएका छन् । छलफलका सत्रहरूमा खेलकुदमार्फत विश्वव्यापी सम्बन्ध सुदृढ गर्ने ‘खेल कूटनीति’, नेपालको खेल पूर्वाधार इकोसिस्टम निर्माण, उदीयमान खेलहरूलाई मूलधारमा ल्याउने प्रयास, खेल विकास र मोनेटाइजेसनमा सञ्चारको भूमिका तथा डिजिटल खेल कथावाचनको शक्ति जस्ता विषयहरूमा विज्ञहरूले बहस गर्नेछन् ।
कार्यक्रमका बारेमा जानकारी दिँदै आयोजक आमिर अख्तरले नेपाल स्पोर्ट्स समिट २०२६ केवल एउटा कार्यक्रम मात्र नभएर खेल, कूटनीति, पर्यटन र आर्थिक विकासलाई एकीकृत गर्ने राष्ट्रिय अभियान भएको बताए । उनका अनुसार समिटको मुख्य दृष्टिकोण नेपालको खेल इकोसिस्टमलाई विश्वव्यापी अवसरहरूसँग जोड्दै अन्तर्राष्ट्रिय सहकार्यमार्फत देशको खेल भविष्यलाई रूपान्तरण गर्नु रहेको छ । त्यसैगरी, अर्का आयोजक भास्कर राजकर्णिकारले यो समिटले नीति निर्माता, लगानीकर्ता र विश्व संस्थाहरूबीच संवादको वातावरण सिर्जना गर्ने उल्लेख गर्दै नेपालको प्राकृतिक लाभ र युवा ऊर्जालाई दीर्घकालीन वृद्धिमा बदल्ने विश्वास व्यक्त गरे ।
समिटको मुख्य उद्देश्य नेपाललाई विश्वस्तरीय खेल पर्यटन गन्तव्यको रूपमा स्थापित गर्नु, अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नु र नेपालको खेल अर्थतन्त्रलाई सुदृढ बनाउन दिगो साझेदारी निर्माण गर्नु रहेको छ । कार्यक्रममा सहभागी हुने प्रमुख समूहहरूमा कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय मिसनहरू, कर्पोरेट नेतृत्व, नीति निर्माता र खेल उद्योगका सरोकारवालाहरू रहनेछन् । समिटको बारेमा थप जानकारी र प्यानलिस्टहरूको नामावली आधिकारिक सामाजिक सञ्जालमार्फत क्रमशः सार्वजनिक गरिने आयोजक कमिटीले जनाएको छ ।











प्रतिक्रिया